कांग्रेस प्रमुख सचेतक लेखक भन्छन्- विपदमा सरकार के गरिरहेको छ, जानकारी चाहियो
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लेखकले मनसुनी वर्षासँगै आएको बाढी पहिरोमा परी घाइते भएका नागरिकहरु उपचार र प्रभावितलाई रहतका लागि सरकारले गरिरहेको प्रयासबारे जानकारी नभएको बताए।
काठमाडौं, असोज २५ : नेपाली कांग्रेसका सांसद रमेश लेखकले सरकार विपद्को समयमा जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लेखकले मनसुनी वर्षासँगै आएको बाढी पहिरोमा परी घाइते भएका नागरिकहरु उपचार र प्रभावितलाई रहतका लागि सरकारले गरिरहेको प्रयासबारे जानकारी नभएको बताए।
‘बाढी पहिरोमा परि घाइते भएका नागरिकहरुको उपचार र प्रभावितलाई रहतका लागि सरकारले के गरिरहेको छ भन्ने विषय अझै पनि जानकारी गराएको छैन। यो दुखको विषय हो। प्रधानमन्त्री र मन्त्रीज्यूहरु संसदमा उपस्थिति जनाइरहनुभएको छैन,’ सरकारले विश्वासको मत लिने तयारी गरिरहनुभएको छ। संविधान अनुसार सरकारले विश्वासको मत लिनुपर्नेमा केही दुविधा छैन। सरकारले तीस दिन समय लिओस्। सरकारमा हुँदा देश र जनताप्रति उत्तरदायी भइदिनुपर्यो।’
लेखकले देशभर आएको बाढी र पहिरोमा परि ७४ जनाको मृत्यु, ६ जना वेपत्ता र ८६ जना घाइते भएको उल्लेख गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
‘अविरल वर्षाका कारण देशभर बाढी र पहिरो गइरहेको छ। प्राप्त जानकारी अनुसार ७४ भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ। ६ जनाभन्दा बढी वेपत्ता भएको स्थिति छ। ८६ जना घाइते भएका छन्,’ उलने भने, ‘म सम्माननीय सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु कञ्चनपुरको कृष्णपुर र पुनर्वास गाउँपालिका लगायतका क्षेत्रमा ठुलो धन जनको क्षति भएको छ। देशभरिमा हजारौं मानिसहरु विस्थापित भएका छन्। अर्बांै रुपैयाँ बराबरको क्षति भएको छ।’












