मधेशमा सत्ता गठबन्धनको नयाँ सरकार बनाउन सकस
सिंहलाई विश्वासको मत दिएका जनमत, कांग्रेस, एमाले र लोसपा मिलेर मधेश प्रदेश सरकारमा सहभागी हुने भएपछि सो अनुसार तयारी थलिएको हो। तर मन्त्रालय बाँडफाँटमा कांग्रेस र लोसपाको अडानले मुख्यमन्त्री सिंह सकसमा परेका छन्।
धनुषा, असार २५ : मधेश प्रदेशमा कांग्रेसले चार मन्त्रालय र लोसपाले दुई मन्त्रालयमा आ–आफ्नो अडान राखेपछि नयाँ गठबन्धनमा सकस देखिएको छ।
केन्द्रीय राजनीतिमा एमाले–कांग्रेसको सत्ता सहकार्यको सहमति भएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो। सोही निर्णयको आधारमा मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासको मत प्राप्त गरिसकेका छन्।
सिंहलाई विश्वासको मत दिएका जनमत, कांग्रेस, एमाले र लोसपा मिलेर मधेश प्रदेश सरकारमा सहभागी हुने भएपछि सो अनुसार तयारी थलिएको हो। तर मन्त्रालय बाँडफाँटमा कांग्रेस र लोसपाको अडानले मुख्यमन्त्री सिंह सकसमा परेका छन्।
कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण यादवले अर्थ सहितको चार वटा मन्त्रालय आफुहरुले पाउने सहमति भएको र सोहि अनुसार अगाडि बढ्नुपर्ने बताएका छन्।
यता कांग्रेस संसदीय दलको बैठकले चार वटा मन्त्रालय मिल्यो भन्दै मन्त्रीहरुको नामसमेत टुंगो लगाएको जनाएको छ।
नेपाली कांग्रेसले जनार्दनसिंह क्षेत्रीको नेतृत्वमा सुनिल यादव, शेषनारायण यादव र कौशलकिशोर रायलाई सरकारमा पठाउने तयारी गरेको छ। तर मन्त्रालयको संख्या र नाम यकिन नभएको हुनाले अहिले पनि दलहरु छलफलमै छन्।
लोसपाले दुई वटा मन्त्रालय पाउनु पर्ने अडान लिएपछि शनिबार नै हुने भनिएको सपथग्रहण कार्यक्रम अझै हुन सकेको छैन। गृह तथा सञ्चारसहित लोसपाले दुई वटा मन्त्रालयको दाबी गर्दै आएको छ।
मुख्यमन्त्री सिंहले सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेसले आफ्नो नेतृत्वमा छुट्टै सरकार बनाउने तयारी थालेको छ।












