Kathmandu Press

प्रतिनिधिसभामा गीतमार्फत जुहारी खेल्दै सांसद

उनले प्रधानमन्त्री दाहाल प्रति कटाक्ष गर्दै भने, ‘तिमीले पराई ठानेपछि पराई हुनु के भयो र, तिम्रो मेरोबीचको नाता भन्नु पनि के रह्यो र!’
प्रतिनिधिसभामा गीतमार्फत जुहारी खेल्दै सांसद

काठमाडौं, असार २४ : प्रतिनिधिसभामा सांसदहरूबीच छेडखानी र कटाक्ष चलेको छ।

गत असार १९ गते प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा बुझाउन गएका एमालेका मन्त्रीहरुलाई फत्तेमान राजभण्डारीका गीत सुनाए– ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले।’

बालुवाटारमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई सुनाएको त्यो गीतलाई संसदमा गीतबाटै व्यङ्ग्य वाण भइरहेको छ।

Hardik ivf

दुई ठुला दल कांग्रेस र एमालेको सत्ता समिकरण बनेपछि प्रधानमन्त्री दाहालको राजीनामा माग भइरहेको छ। प्रधानमन्त्री दाहाल भने २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन्।

अल्पमतमा परेको सरकारको बिषयमा संसद बैठकमा बोल्ने सांसदहरूबीच बचाउ र आलोचना गर्नेक्रममा गीतमार्फत छेडखानी चलेको हो।

आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले रामकृष्ण ढकालको गीत सुनाए– ‘ओराली लागेको हरिणको चाल भयो, बाँचुञ्चेलसम्म पनि मरेकै हाल भयो, त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर पाएको, माया त रहेछ धारिलो छुरा रेटिनै पर्‍यो नि!’

शर्माले उक्त गीत प्रधानमन्त्री दाहाललाई समर्पित गर्न चाहेको समेत बताएका थिए।

सोमबारको प्रतिनिधिसभा बैठकमा फेरि गीतको श्रृंखलाले निरन्तरता पायो। सोमबार एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि अञ्जु पन्तको गीत सुनाए। उनले प्रधानमन्त्री दाहाल प्रति कटाक्ष गर्दै भने, ‘तिमीले पराई ठानेपछि पराई हुनु के भयो र, तिम्रो मेरोबीचको नाता भन्नु पनि के रह्यो र!’

गीत सुनाइसकेपछि एमाले प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री दाहालले सदैव सँगै रहने र अर्को दाउपेचको प्रक्रियालाई जोडिरहने द्वेध चरित्र देखाएको आरोप पनि लगाए।

प्रधानमन्त्री दाहालमाथि कांग्रेस–एमलेबाट गीतबाटै छेडखानी चलेपछि माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले पनि गीत सुनाउँदै बाटै बचाउ गरे। घर्तीले कुन्ति मोक्तानले गाएको गीतको अन्तरा सुनाउँदै भने, ‘कति जल्छौ आरिसले अझै जल्दै गर, म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर!’

उनले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै अर्को गीत पनि सुनाए– उडायो सपना सबै हुरीले । गीतकार मुरलीधरको यो गीत सुनाउँदै घर्तीले यो गीत चरितार्थ नबनोस् भने।

गीतबाटै संसदमा जुहारी चलेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सदनमा अचेल रोचक हुने गरेको बताइन्। उनले भनिन्, ‘कतै कविता सुनिन्छ, गीत सुनिन्छ। कुनैदिन अगाडि नाच पनि हेर्न पाइएला।’

नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले दोहोरीप्रति नै व्यङग्य हाने। उनले गीत गाएरै संसदको अवधि सकिने त होइन भन्ने प्रश्न पनि गरे  थापाले भने, ‘एउटाले आहान भनेको छ, अर्कोले गीत गाएको छ, गीत गाउँदैमा हाम्रो अवधि जाने पो हो कि!’

प्रकाशित मिति: १५:३७ बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्