‘कांग्रेस र एमालेबीच एकअर्कालाई लात्ता हानेर नहिँड्ने समझदारी भएको छ’
‘एकले अर्कालाई बीचमा हिँड्दा हिँड्दै लात्ता नहान्ने समझदारी भएको छ। प्रेम एउटासँग लिभिङ टुगेदर अर्कोसँग यस्तो नगर्ने पनि सम्झौता भएको छ। उथलपुथल नगर्ने हामी बीचमा सहमति भएको छ,’ प्रधानमन्त्री दाहालप्रति व्यंग्य गर्दै उनले भने।
काठमाडौं, असोज २४ : एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस र एमालेबीच सहकार्यको बीच बाटोमा एकअर्कालाई लात्ता हानेर नहिँड्ने समझदारी भएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्।
सांसद बर्तौलाले राष्ट्रिय सहमतिको सरकार बनाउने सममति भएको र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले जस्तो प्रेम एकातिर लिभिङ टुगेदर अर्कैतिर नगर्ने समझदारी भएको भन्दै दाहलाको अस्थिर चरित्रप्रति व्यंग्य गरे।
‘एकले अर्कालाई बीचमा हिँड्दा हिँड्दै लात्ता नहान्ने समझदारी भएको छ। प्रेम एउटासँग लिभिङ टुगेदर अर्कोसँग यस्तो नगर्ने पनि सम्झौता भएको छ। उथलपुथल नगर्ने हामी बीचमा सहमति भएको छ,’ प्रधानमन्त्री दाहालप्रति व्यंग्य गर्दै उनले भने।
सांसद बर्ताैलाले गायिका अन्जु पन्तको गीत ‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र’ गीत स्मरण गराउँदै एमालेले मन्त्रीहरुले राजीनामा बुझाउँदा प्रधानमन्त्री खाएको गीतको पनि स्मरण गरे।
‘वर्तमान सरकारलाई एमालेको तर्फबाट दिएको समर्थन फिर्ता लियौँ। सबै मन्त्रीले राजीनामा दिनुभयो । बालुवाटार पुगेर राजीनामा बुझाउँदा एउटा गीत गाउनुभयो, यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले गीत गाउनुभयो । अन्जु पन्तको गीत स्मरण गराउन चाहन्छु तिमीले पराई ठानेपछि पराई हुन के भयो र।’
प्रधानमन्त्री दाहालको चुलबुले स्वभाव उथलपुथुलको कार्यशैलीको मारमा एमाले परेको उनले बताए। आफूहरू सरकारबाट बाहिँरिदा कांग्रेसले पनि साथी खोजिरहेको र आफूहरू पनि साथीको खोजीमा रहेको अवस्थामा नयाँ समीकरण बनेको उल्लेख उनले बताए।
उनले अहिले अपारदर्शी सम्झौता भएको भन्दै कांग्रेससँगको सम्झौता होइन सहमति भएको उल्लेख गरे। रास्वपाका केही मन्त्री गोजीमा राजीनामा बोकेको भन्दै सरकार बहुमतमै हुँदा भाषण गर्ने गरेको बताए। तर, अहिले राजीनामा दिन केले रोक्यो भन्दै प्रश्न गरे।












