प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्छ : सांसद गैरे
‘रोम जलिरहेको अवस्थामा राजाले बाँसुरी बजाएर बसेको’ कथनजस्तै ‘घोर’ अल्पमतमा परेको प्रचण्ड सरकारले पनि बाँसुरी बजाइरहेको उनले टिप्पणी गरे।
काठमाडौं, असार २४ : प्रतिपक्ष दल नेकपा एमालेका सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने बताएका छ।
सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले आफू अल्पमतमा परेको थाहा हुँदाहुँदै प्रधानमन्त्री दाहालले ‘धारापानी र संविधानमा प्वाल खोज्दै हिँडेको’आरोप लगाए। प्रधानमन्त्रीले अस्थिरता, बेथिति र विभाजनतर्फ देशलाई लैजान प्रयत्न गर्दै सदनमा पनि सोहीअनुरूप तर्क–वितर्क गरिरहेको उनले बताए।
सांसद गैरेले विपद्मा सरकार रमिता हेरेर बसिरहेको आरोप लगाए। ‘रोम जलिरहेको अवस्थामा राजाले बाँसुरी बजाएर बसेको’ कथनजस्तै ‘घोर’ अल्पमतमा परेको प्रचण्ड सरकारले पनि बाँसुरी बजाइरहेको उनले टिप्पणी गरे।
‘सरकार यस्तो पनि हुँदो रै’छ कहिले कहिले, गीत गाएर बसेको छ। बरु, उडायो सबै सपना हुरीले गीत गाएको भए हुने नि,’ सांसद गैरले भने।
लोकतान्त्रिक शासनमा सरकार अल्पमतमा परेपछि, बहुमत गुमाएपछि कुनै धारा उपधारा खोज्नु नपनेृ बताउँदै उनले नैतिक रूपमा सरकार एक मिनेट हैन, सेकेन्ड पनि बस्ने नैतिक आधार नरहने बताए।
अल्पमतमा परेका प्रधानमन्त्रीलाई तुरुन्त राजीनमा दिन र दुईतिहाइको सरकार बनाउने मार्गप्रशस्त आग्रह गरे ।












