शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्य कर्मचारी नै क्वारेन्टाइनमा
काठमाडौं, चैत्र २३ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कार्यरत चिकित्सक, नर्सलगायतका स्वास्थ्य कर्मचारीलाई क्वारेन्टाइनमा राखेको छ। ....

काठमाडौं, चैत्र २३ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कार्यरत चिकित्सक, नर्सलगायतका स्वास्थ्य कर्मचारीलाई क्वारेन्टाइनमा राखेको छ। अस्पतालमा कार्यरत कर्मचारीको स्वास्थ्यको ख्याल राख्दै अस्पतालले स्वास्थ्य सेवा विभागको एक बिल्डिङ्गमा खाने बस्ने व्यवस्था गरेको हो।
कोरोना भाइरसको उपचार भइरहको टेकु अस्पताल निकै सम्वेदनशिल क्षेत्र भएकोले यहाँ कार्यरत कर्मचारीलाई भित्रै बस्ने व्यवस्था मिलाइएको अस्पतालका प्रवत्ता डा. अनुप बास्तोलले काठमाडौं प्रेसलाई बताए। उनका अनुसार हाल क्वारेन्टाइनमा ६ जना स्टाफ नर्ससहितका कर्मचारीहरु बसेका छन्।
‘कतिपय कर्मचारीको घरमा वृद्धवृद्धा रहेको घरै गएका छैनन् भने केही घरवेटीको कारण घर जान पाएका छैनन्, उनले भने, उनीहरुका लागि अस्पतालले खाने बस्ने सुविधासहित क्वारेन्टाइनमा राखेको हो।
साथै अस्पतालको क्वारेन्टाइनमा बस्न चाहने कर्मचारीको संख्या वृद्धि भएमा बेड थप्ने योजना रहेको उनले बताए। क्वारेन्टाइनमा बस्दै आएकी नर्सिङ अफिसर सञ्जिताका अनुसार क्वारेन्टइनमा बसेका सबैजना नर्सिङ डिपार्टकै रहेका छन्।
कुल १८ वटा बेड राखिएको सो क्वारेन्टाइनमा आवश्यक सबै सामाग्रीहरुको व्यवस्था गर्नुका साथै बेडहरुको दुरी पनि कायम गरिएको छ।











