नवलपुर खण्डमा कालीगण्डकी करिडोर अवरुद्ध
गएरातिदेखि परेको अविरल वर्षाका कारण तरंग खोलाको ह्युमपाइप बगाएपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए।नवलपरासी, असार २२ : कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरखण्डमा सडक अवरुद्ध भएको छ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण तरंग खोलाको ह्युमपाइप बगाएपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए।
करिडोर अवरुद्ध भएपछि गैंडाकोटबाट पहाडी क्षेत्रका लागि छुटेका र नवलपुरको पहाडी क्षेत्रसहित रामपुरबाट गैंडाकोटतर्फ आउँदै गरेका सवारी बाटोमा अलपत्र परेका छन्।
ह्युमपाइप बगाएपछि खोला वारपार गर्नसक्ने अवस्था नभएको स्थानीय भोज पुलामीले बताए। ह्युमपाइप राख्नसके यातायात सञ्चालन हुनसक्ने उनले बताए।
ह्युमपाइप बगाएपछि राखिएका सवारीलाई वारपार गराउन र ह्युमपाइप राख्न विषयमा समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।
यसैगरी पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पहिरो खसेको र बाटोमा बिग्रिएको सवारीका कारण एकतर्फी रुपमा सवारी सञ्चालनमा रहेको छ । यसले गर्दा सवारीसाधनको लामो लाइन लागेको छ।
पूर्वपश्चिम राजमार्गकै डण्डा–चोरमारा–अरुणखोला–दुम्कीबासको विभिन्न खण्डमा बाटो चिप्लो हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ। जिल्लाको पहाडी क्षेत्र जोड्ने दलदले–कुमसोत–पोखरी सडकअन्तर्गत हुप्सेकोट गाउँपालिका–५, पाङ्ग्रेमा पहिरोले सडक अवरुद्ध हुँदा यातायातका साधन सञ्चालन भएका छैनन् ।