Kathmandu Press

रविको मुद्दामा दुई न्यायाधीशको राय बाझियो

रिटमा दुईतर्फी सुनुवाई सकिएपछि न्यायाधीशविच राय बाझिएको हो। न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच फरक फरक राय आएपछि अब यो रिटमा तीनजना न्यायाधीशको इजलासमा सुनुवाई हुने भएको छ।
रविको मुद्दामा दुई न्यायाधीशको राय बाझियो

काठमाडौं, असार २० : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गरी छानविन गर्नुपर्ने मागदावी सहित दायर रिट निवेदनमा सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको छ।

रिटमा दुईतर्फी सुनुवाई सकिएपछि न्यायाधीशविच राय बाझिएको हो। न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच फरक फरक राय आएपछि अब यो रिटमा तीनजना न्यायाधीशको इजलासमा सुनुवाई हुने भएको छ।

राय बाझिएपछि रिट निवेदनमा पुनः सुनुवाई गर्नुपर्ने अवस्था आएको छ। राय बाझिनाको आधार र कारण के थियो भन्नेबारे आदेश सार्वजनिक हुन बाँकी छ।

लामिछानेविरुद्ध दायर रिट निवेदन ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। बहस सकिएपछि एउटा फैसला हुने आशा गरे पनि मुद्दा लम्बिएको छ। महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेलाई सफाई दिने गरी थमाएको पत्र अवैध रहेको दाबीसहित अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए।

सहकारी ठगी प्रकरणमा लामिछानेविरूद्ध जाहेरी परेको अवस्थामा गृहमन्त्रीबाट राजिनामा दिई छानविन अघि बढाउनुपर्ने दाबी रिटमा गरिएको छ।

यसअघि सर्वोच्चले पोखराको सूर्यदर्शन सहकारीका पीडितले दर्ता गरेको जाहेरी, लामिछाने मुछिएको रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालतमा पेस गरेको अभियोग पत्र लगायत फाइल झिकाउने आदेश दिएको थियो।

महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध कुनै पनि जिल्लामा अनुसन्धान, अभियोगपत्र र जाहेरी नपरेको बताउँदै पत्र दिएपछि सर्वोच्चमा प्रश्न उठाइएको हो। उक्त रिटमा अब तीन न्यायधाीश संलग्न पूर्ण इजलासले अन्तिम फैसला गर्नेछ।

 

प्रकाशित मिति: १९:४० बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्