विदेशको पिआर लिनेलाई नियुक्ति रोक्ने कानुन बनाउन अख्तियारको निर्देशन
विदेशको पिआर लिएकाहरू सार्वजनिक पदमा बहाल रहेको भेटिएको भन्दै समाचार प्रकाशित भएपछि अख्तियारले यस्तो निर्देशन दिएको हो । अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नाममा निर्देशन दिएको हो।
काठमाडौं, असार २० : विदेशको स्थायी आवासीय अनुमतिपत्र (पिआर) लिएको व्यक्तिलाई नियुक्ति रोक्ने गरी कानुनी व्यवस्था गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ।
विदेशको पिआर लिएकाहरू सार्वजनिक पदमा बहाल रहेको भेटिएको भन्दै समाचार प्रकाशित भएपछि अख्तियारले यस्तो निर्देशन दिएको हो । अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नाममा निर्देशन दिएको हो।
अख्तियारले सरकारबाट नियुक्ति हुनुपर्ने व्यक्तिको हकमा नेपाल सरकार (मन्त्रिपरिषद्) मा प्रस्ताव पेस गर्दाका बखत त्यस्ता व्यक्तिले विदेशी नागरिकता वा स्थायी आवासीय अनुमतिपत्र लिए नलिएको यकिन गर्न स्वघोषण अनिवार्य रूपमा पेस गर्न लगाउन निर्देशनमा भनेको छ।
अन्य सार्वजनिक निकायका हकमा पनि सोहीबमोजिम कानुनी व्यवस्था गर्ने गराउने व्यवस्था गर्न अख्तियारको निर्देशन छ।
अख्तियारले विदेशी पिआर लिएको भन्दै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध मुद्दा दायर गरिसकेको थियो। उक्त मुद्दामा विशेष अदालतले पौडेललाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
यसअघि समाजकल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीमाथि अमेरिकी पिआर लिएको आरोप लागेपछि पदबाटै राजीनामा दिएकी थिइन्।












