असार २३ गते संसदलाई सम्बोधन गरेर राजिनामा दिने मनस्थितिमा प्रधानमन्त्री दाहाल
कांग्रेस र एमालेबीच नयाँ सत्ता सहकार्य गर्ने समझदारी बनेपछि प्रधानमन्त्री दाहाल राजिनामाको विकल्पमा पुगेका हुन्।
काठमाडौं, असार १९ : प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २३ गते बस्ने संसद बैठकलाई सम्बोधन गरेर राजिनामा दिने मनस्थिति बनाएका छन्।
नेपाली कांग्रेस र एमालेबीच नयाँ सत्ता सहकार्य गर्ने समझदारी बनेपछि प्रधानमन्त्री दाहाल राजिनामाको विकल्पमा पुगेका हुन्। तर, मंगलबार बसेको माओवादीको बैठकले भने राजिनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको थियो।
बुधबार बिहान बसेको नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गर्दै प्रधानमन्त्री दाहाललाई राजिनामा दिन आग्रह गरिसकेको छ। एमालेले पनि राजिनामा दिएर मार्गप्रशस्त गर्न मंगलबार नै प्रधानमन्त्रीलाई आग्रह गरेको थियो ।
प्रधानमन्त्री निकटस्थ स्रोतका अनुसार दाहालले आगामी असार २३ गते बस्ने संसद बैठकमा राजिनामा दिने मानसिकता बनाएका हुन्।
‘२३ गते (आइतबार) संसदमा संवोधन गरेर राजिनामा दिने मनस्थिति देखिएको छ । आजै वा भोली नै राजिनामा दिने अवस्था छैन,’ प्रधानमन्त्री निकट स्रोतले काठमाडौं प्रेससँग भन्यो।
प्रधानमन्त्री दाहाल अहिलेसम्म आफूले गरेका कामको उपलब्धीलगायत विषयमा संवोधन मार्फत संसदलाई जानकारी गराएपछि राजिनामाको घोषणा गर्ने तयारीमा छन्।
दाहालले प्रधानमन्त्रीबाट राजिनामा दिएपछि कांग्रेस–एमालेको सहमति अनुसार पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्नेछन्। दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने समझदारी बनेको छ ।
असार १७ गते राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको थियो। दुई दलबीच नयाँ सरकार गठन गरी राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने लगायतका विषयमा समझदारी बनेको छ।