धनगढीका संक्रमित युवकको परिवारमा देखिएन काेराेना
धनगढी, चैत २३ : कोरोना भाइरसको संक्रमण देखिएका कैलालीका युवकको परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ। उनीहरुमा संक्रमण नदेखिएको सेती प्रादेशिक अस्पत....

धनगढी, चैत २३ : कोरोना भाइरसको संक्रमण देखिएका कैलालीका युवकको परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ। उनीहरुमा संक्रमण नदेखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका–५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सातै जनाको रिपोर्ट नेगेटिभ आएको हो। परिवारका आठ सदस्यको थ्रोट स्वाब संकलन गरिएकामा उनकी ३४ वर्षीया भाउजुको रिपोर्ट पोजेटिभ आएको थियो।
अन्य सातको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा.जगदीश जोशीले बताए। संक्रमितकी श्रीमती, चार वर्षीया छोरी, उनका बुवाआमा, दाजु र भतिजीको रिपोर्ट पनि नेगेटिभ आएको छ।
यसअघि संक्रमण देखिएका धनगढीका एक युवक दुबईबाट यही चैत ७ गते नेपाल आएका थिए। दिल्लीबाट काठमाडौँ आउँदा उनी चढेको जहाजमा १०८ नेपाली थिए। नेपालगञ्जबाट अत्तरिया हुँदै उनी हसनपुरस्थित घर पुगेका थिए।
अहिलेसम्म नेपालमा नौ जनामा कोरोना देखिएको छ। एक जना निको भइसकेका छन् भने आठ जनाको उपचार भइरहेको छ।











