अवैध लागुऔषधसहित दुई भारतीय पक्राउ
पक्राउ पर्नेमा भारतको बिहार सितामढी जिल्ला बकरी ३ गाँउ राघोपुरका २० वर्षीय रौशन कुमार र १८ वर्षीय अमित कुमार छन्।रौतहट, असार १९ : सशस्त्र प्रहरी बल रौतहटले अवैध लागुऔषध सहित दुई भारतीयलाई पक्राउ गरेको छ।
गौर–चपुर सडकखण्डको ईद्रिस गेटअगाडि चेकजाँचका क्रममा सशस्त्र प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहार सितामढी जिल्ला बकरी ३ गाँउ राघोपुरका २० वर्षीय रौशन कुमार र १८ वर्षीय अमित कुमार छन्।
रौतहटको गौरबाट चन्द्रपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडीमा लुकाई छिपाई लैजाँदै गरेको अवास्थामा सो लागूऔषध बरामद गरेको हो।
ना.१.ज.७१०९ नम्बरको गाडिलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्दा सिटमुनी झोलामा लुकाएर राखेको अवास्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हजमिनिया रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिक्रम हुमागाईले जानकारी दिए।
उनीहरुको साथबाट लगभग ६ सय थान लागुऔषध फेनारगन र आइपिपिएल इन्जेक्सन सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी उपरिक्षक हुमागाईका अनुसार पक्राउ परेका दुवै युवकबाट आइपिपिएल २ सय ९९ थान र फेनारगन २ सय ९९ थान बरामद भएको हो।
पक्राउ परेका दुवै युवकलाई लागुऔषध सहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएका सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ।