‘देशको सार्वजनिक ऋण सुविधाजनक अवस्थामा छ, ऋणको पासोमा पर्दैनौं’
चालु आर्थिक वर्षको वैशाखसम्ममा सरकारले आन्तरिक ऋणतर्फ एक खर्ब ९१ अर्ब र बाह्य ऋणतर्फ ७३ अर्ब ६३ करोड ३६ लाख गरी जम्मा दुई खर्ब ६४ अर्ब ६३ करोड ३६ लाख सार्वजनिक ऋण परिचालन गरेको अर्थमन्त्री पुनले बताए।काठमाडौं,असार १७ : अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा नेपालको सार्वजनिक ऋणको अवस्था सुविधाजनक अवस्थामा रहेको र नेपाल ऋणको पासोमा नपर्ने बताउएका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले नेपालले लिएको ऋणको लागतसमेत कम रहेको दाबी गरे।
‘ऋणको लागत र जोखिमको दृष्टिकोणबाट अन्य मुलुकको तुलनामा हाम्रो सार्वजनिक ऋण सुविधाजनक अवस्थामा छ। हालसम्मको सार्वजनिक ऋणको परिमाण र लागतलाई दृष्टिगत गर्दा मुलुक ऋणको पासोमा पर्ने सम्भावना छैन,’ उनले भने, ‘सार्वजनिक ऋण परिचालन गर्दा ऋणको दिगोपना कायम गर्नेतर्फ सरकार संवेदनशील छ। सार्वजनिक ऋणलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्दै जानेतर्फ सरकार सचेत छ।’
अर्थमन्त्री पुनका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को वैशाख मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण ९८ अर्ब आठ करोड थपिएर २३ खर्ब ९७ अर्ब पुगेको छ। विसं २०८० असारमसान्तमा सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड थियो।
हाल नेपालको कूल गार्हस्थ्य उत्पादनको अनुपातमा सरकारको तिर्न बाँकी ऋण ४२. .०२ प्रतिशत छ तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड (४९.४ प्रतिशत) र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड (५०.६ प्रतिशत) छ।
चालु आर्थिक वर्षको वैशाखसम्ममा सरकारले आन्तरिक ऋणतर्फ एक खर्ब ९१ अर्ब र बाह्य ऋणतर्फ ७३ अर्ब ६३ करोड ३६ लाख गरी जम्मा दुई खर्ब ६४ अर्ब ६३ करोड ३६ लाख सार्वजनिक ऋण परिचालन गरेको अर्थमन्त्री पुनले बताए।
सो अवधिमा सरकारले आन्तरिक ऋणतर्फ एक खर्ब ३५ अर्ब ६२ करोड ३३ लाख र बाह्य ऋणतर्फ ३० अर्ब ९३ करोड ११ लाख गरी जम्मा एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख सावाँ भुक्तानी गरेको छ।