सरकारलाई कांग्रेसको प्रश्न- अझै साइत कुर्ने कि कोरोनाको परीक्षण बढाउने ?
काठमाडौं, चैत २२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको परीक्षण तत्काल बढाउन सरकारलाई आग्रह गरेको छ।
कांग्र....

काठमाडौं, चैत २२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको परीक्षण तत्काल बढाउन सरकारलाई आग्रह गरेको छ।
कांग्रेसका तर्फबाट प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी कोरोना परीक्षणको व्यापकता बढाउन आग्रह सरकारलाई आग्रह गरेका हुन्।
सरकारलाई प्रश्न गर्दै प्रवक्ता शर्माले भनेका छन्,‘ सरकार, अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्ने? चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा गर्ने ?’
प्रवक्ता शर्माले कैलालीमा एक स्थानीय महिलामा कोरोना संक्रमण देखिएको विषयलाई तत्काल गम्भीरतापूर्वक लिएर परीक्षणको व्यापकता बढाउन सरकारलाई अगा्रह गरेका छन्।
‘यसअघि संक्रमण देखिएका ६ जना सबै बिदेशबाट आएका नेपाली थिए। तर सातौंमा संक्रमण स्थानीयमा देखिनुको अर्थ हो हामी अब गम्भीरताको दोस्रो चरणमा पुगेका छौं,’ उनले भनेका छन्,‘ ती महिलाले संक्रमण कहिँ बाहिरबाट लिएर आइनन्, हाम्रो गम्भीर सतर्कता नपुग्नुको परिणाममा उनी संक्रमित बन्न पुगिन्। समयमै दोहोरो अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परिक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए खतराको आकार बढेर जाने थिएन।’
उनले संक्रमित देखिएका सबैका परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूहको परीक्षण तत्काल गर्न सरकारलाई आग्रह पनि गरेका छन्। बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्दै सबै स्थानीय तह र स्थानीय प्रशासनमार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गराउन पनि उनले माग गरेका छन्।
‘स्थानीय एक तथा अन्य दुइमा गरेर एकै दिन तीन जनामा संक्रमण देखिएको आजको दिन सबै खाले ढिलासुस्ती र अकर्मण्यतालाई आहुती दिएर व्यापक सतर्कता, व्यापक परिक्षण र व्यापक उपचार बढाउने क्रममा सरकार युद्धस्तरमा प्रवेश गर्ने दिन बन्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।
हेर्नुस् विज्ञप्ति :












