स्वास्थ्य उपकरण खरिदमा अनियमितता गर्नेमाथि कारवाही गर्न राजपाको माग
काठमाडौं, चैत २१ : राष्ट्रिय जनता पार्टी नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा भएको भनिएको अनियमितताबारे छानविन गरी दोषीमाथि कडा कारव....

काठमाडौं, चैत २१ : राष्ट्रिय जनता पार्टी नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा भएको भनिएको अनियमितताबारे छानविन गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ।
राजपा नेपालका अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले शुक्रबार विज्ञप्ति जारी गरी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचार भएको कुरा बाहिर आएकाले त्यसबारे तत्काल सत्यतथ्य छानविन गरी दोषीमाथि कडाभन्दा कढा कारवाही गर्न माग गरेका हुन्।
‘अत्यावश्यक स्वास्थ्य सामग्रीहरु अहिलेसम्म पनि पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्नु दुःखद र गैरजिम्मेवारीको पराकाष्ठा हो। त्यसमा पनि अझ खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचारको खबरले जनमानसमा अत्यन्तै खराब सन्देश गरेकोले तत्काल सत्यतथ्य छानविन गरी दोषीमाथि कडाभन्दा कडा कारवाहीको माग गर्दछौं,’ भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
भण्डारीले नेपाल र भारतको सीमानाकामा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेका छन्।
यस्तै, राजपाले अत्यावश्यक उपभोग्य वस्तु र राहत सामग्रीहरु वडा तहबाटै नागरिकसम्म पु¥याउने निर्णय सरकारले गरे पनि अहिलेसम्म त्यो कार्यान्वयन नभएकोमा ध्यानाकर्षण गराएको छ। ‘आजको दिनसम्म पनि कार्यान्वयन नभएको हुनाले केन्द्र सरकार ,प्रदेश सरकार र स्थानीय तहालाई जिम्मेवार हुन र तत्तपरता देखाउन ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
राजपाले कोरोना भाइरसको महामारी दिनानुदिन झन बढ्दै गइरहेको अवस्थामा सरकारलाई अझ गम्भीर र जिम्मेवार बन्न आग्रह गरेको छ। उसले माहामारीबाट जोगिन तथा लक डाउनलाई प्रभावकारी बनाउन धैर्यताका साथ घरमै बस्न पनि सबैलाई अपील गरेको छ।











