डेरावाल सरकारी कर्मचारीले राहत पाउँदैन्न : विद्यासुन्दर शाक्य
काठमाडौं, चैत २१ : काठमाडौं महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरहरुलाई राहत वितरणमा पहिलो प्राथ....

काठमाडौं, चैत २१ : काठमाडौं महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकतामा राखेको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न महानगरपालिकाबाट चालिएका कदमहरुबारे जानकारी दिँदै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, 'डेरामा बस्नेहरुलाई मात्र राहत बाँड्ने भन्ने होइन। काठमाडौँमा घर भएरै पनि खाद्यवस्तु किनेर खान सामर्थ्य नराख्ने घर परिवारलाई समेत राहत बाँड्ने हो।'
उनले सरकारी सेवामा रहेका डेरावालहरुले यस्तो राहत नपाउने बताए।
राहत वितरणलाई अघि बढाउन महानगरपालिकाले जनसङ्ख्याको आकारका आधारमा आठ लाख, ६ लाख र चार लाख रुपैयाँका दरले वडाहरुलाई सहयोग रकम निकासा गरिसकेको बताए।
उनले भने, 'महानगरपालिकाले अहिले टोल टोल र वस्ती वस्तीमा किटनाशक औषधि छर्कने अभियानलाई अघि बढाइरहेको छ।'
विपद्का बेला सन्त्रासको वातावरण सिर्जना नगरिदिन सञ्चारकर्मीहरुसँग आग्रह गर्दै उनले भने, 'विदेशबाट फर्केका नागरिकलाई अपराधी सरह नभै सम्मानपूर्वक व्यवहार गरौं । ऊ स्वयं पनि एकान्तवासमा रहनुपर्छ । परिवारका सदस्यसँगै घुलमिल नगरी बसिदिनुहोला।'
'हरेक नागरिकले आफैं सुरक्षित बनेर छिमेकी, समाज, देश र सम्पूर्ण मानव जातिलाई सुरक्षित पार्छु भन्ने भावना राख्नुपर्छ।'
सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिको पहिचान र उसको स्वास्थ्य परीक्षण गर्न सहज होस् भन्ने हेतुले महानगरपालिकाले ‘कोभिड – १९ सर्भिलेन्स सर्भिस’ एप्प पनि सञ्चालनमा ल्याइसकेको छ।
त्यस्तै, कुनै ठाउँ वा वस्तीमा अत्यावश्यकीय वस्तुको अभाव देखिए ढुवानीमा सहजीकरण गरिदिने प्रवन्ध पनि महानगरपालिकाले मिलाएको उनले बताए। सर्वसाधारण नागरिकका लागि राहत वा अन्य कुनै विषयमा जानकारी लिन वा सहयोग माग्न महानगरपालिकाले हटलाइन ११८० को व्यवस्था पनि गरेको छ।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
