Kathmandu Press

१० दिनको बच्चा काखमा च्यापेर भारतबाट हिँडेरै नेपाल आइपुगिन् लक्ष्मी

बुटवल, चैत २१ : लक्ष्मी परियारका काखमा दश दिनको बच्चा छ। तर यी सुत्केरी दिल्लीको गाजियाबादबाट कहिले हिड्दै त कहिले भारतीय प्रहरीले व्यवस्था गरिदि....

 १० दिनको बच्चा काखमा च्यापेर भारतबाट हिँडेरै नेपाल आइपुगिन् लक्ष्मी

बुटवल, चैत २१ : लक्ष्मी परियारका काखमा दश दिनको बच्चा छ। तर यी सुत्केरी दिल्लीको गाजियाबादबाट कहिले हिड्दै त कहिले भारतीय प्रहरीले व्यवस्था गरिदिएको बसको यात्रा गर्दै पाचौँ दिनमा बेलहिया सुनौली दसगजासम्म आइपुगिन् ।  

चौध वर्षको उमेरमै मनोज परियारसँग विवाह गरेर लाहुर (भारत) गएकी लक्ष्मी चार वर्षपछि काखमा १० दिने नवजात शिशु, दायाँबायाँ छोरीहरु तीन वर्षीया पूजा र डेढ वर्षीया मुस्कानलाई ल्याएर यसैहप्ता आइपुगेकी हुन्। साथमा उनका श्रीमान् मनोज पनि छन्। यो दम्पत्तिले भारतबाट नेपालसम्म गरेको पाँच दिनको यात्रा बडो कष्टकर छ। कुनै कुनै ठाउँमा भारतीय प्रहरीले सहयोग गरे पनि अधिकांश हिँड्नै परेको उनीहरुको अनुभव छ। भारतमा उनीहरुको काम मजदुरी नै हो।  

कोरोना भाइरसको सम्भावित सङ्क्रमण फैलिन नदिन भन्दै नेपाल र भारततर्फ लागू भएको लकडाउनले गर्दा उहाँजस्तै दुःख कष्ट भोग्दै यहाँ आइपुग्ने धेरै नेपाली छन्। सीमासम्म त उनीहरु आए तर यता देश पस्न भने पाएका छैनन्। नेपाल प्रवेश नपाए पनि उनीहरुमध्ये कतिलाई त स्वदेशै आएको महसुश भएको पनि छ र ‘अब त बाँचियो’ भन्दैछन्।

जन्मथलो प्रवेश गर्ने प्रतिक्षामा तीन दिनसम्म दशगजामा बस्नुभएकी लक्ष्मीसँगै अरु २९८ जना नेपाली पनि छन्। तीमध्ये लक्ष्मीको परिवारले भने बडो ठूलो सङ्घर्ष गरेर बुधबार नेपाल प्रवेश पाएको छ भने अन्यलाई भारत नौतनवाको इन्टर कलेज, मोर्डन एकाडेमी र आश्रम विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको  छ।

सुत्केरी लक्ष्मीसहित उनको परिवारलाई तिलोत्तमा नगरपालिकाको वडा नम्बर २ शंकरनगर दुर्गादत्त माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए।  

क्वारेन्टाइनमा भेटिएकी लक्ष्मीले खुसी हुँदै भनिन्, “कम्पनी बन्द भयो यत्तिकै बसेर खान नपुग्ने। त्यसैले घरपरिवारसँग पनि भेट हुन्छ बरु जसोतसो आफ्नो देश जाउँ भनेर हिडेको निकै दुःख पाइयो।” मनोजको पनि कम्पनी बन्द भएपछि न्वारन नै नगरेको बच्चा बोकेर यो दम्पत्ति नेपाल हानिएको थियो। उनीहरुको घर तिलोत्तमा नगरपालिका रुपन्देही हो। त्यस क्वारेन्टाइनमा १४ दिन बसेपछि मात्र उनीहरु घर जान पाउने छन्।  

गाजियाबाददेखि आएका रामप्रसाद रिजाल अर्घाखाँची मालारानी गाउपालिका खनदहका स्थायी बासिन्दा हुन्। उनीसहित ३८ जना ५ दिन सम्म हिँडेर सुनौलीसम्म आइपुगेका छन्। रिजालले भने, ‘के गर्ने काम गर्ने कम्पनी बन्द भयो बरु गाउघरमा परिवार दाजुभाइसँग भेटघाट हुन्छ, बिनाकाम यत्तिकै अर्काको देशमा बस्दा खर्च पुराउन पनि मुश्किल त्यसैले हिँडेको जीवनमै नपाएको दुःख पो पाइयो।’ रिजालले भने,‘दिनभरी हिँडेर त रातको समय केही घन्टा प्रहरीले खोजिदिएको बसमा चढेर सुनौलीसम्म आइपुगेको हो।’

गुल्मी पीपलधाराका इन्द्र खत्रीले अर्काको देश दुःख पर्दा काम नलाग्ने रहेछ भन्दै दुखेसो पोखे। “लक डाउन भएपछि कामगर्ने मालिकले तिमीहरु जाउ भन्यो, साथीहरुलाई सम्पर्क गरेको सबैको हालत उस्तै रहेछ अनि सल्लाह गरेर बरु हिड्दै जाम भनेर आयौँ,”उनले भने।  भारतको दिल्ली, गाजियाबाद, पुणे, बनारस, गोरखपुर, चन्ढीगढ, पन्जाब, कानपुर, राजस्थान, कलकत्ता लगायतका ठाउमा कामगर्ने नेपालीहरु नोभल कोरोना भाइरसको कारण भारतमा जनता कर्फयू लागु भएपछि पैदल हिड्दै आउँदा एक ठाउँको प्रहरीले अर्को ठाउँसम्म बसबाट पुराइदिएको थियो। कतिले यस्तो सुविधान सुनौलीसम्मै पाए भने धेरैजसो पाँच दिनकै बाटो हिँडेर नेपाल आएका छन् ।

उनीहरु दिनभर हिँड्थे, राती केहीघन्टा एक प्रहरी स्टेशनबाट अर्को स्टेशनसम्म बसमा पनि चढेका थिए। आफ्नो ठाउँमा मान्छेहरु राख्दा व्यस्थापनको तनाव हुने देखेर बरु बस खोजेरै अन्यत्र पठाउदा सहज हुने भन्दै भारतीय प्रहरीले लकडाउनको समयमा पनि त्यसो गरेको देखिन्छ।

भारतका विभिन्न शहरमा काम गर्ने मजदुहरु यसरी सुनौलीसम्म हिड्दै आउनेमा अर्घाखाँचीका १३३, गुल्मीका ७१, रुपन्देहीका २२ जना रहेका छन्। यसैगरी कपिलवस्तुका १०, बाँकेका ८, धादिङका २, बाराका १, प्यूठानका ४, पाल्पाका १५, तनहुका ७, बागलुङका ४, चितवनका १९, नवलपरासीका १, स्याङ्जाका १ जना रहेका छन्। 

यता नेपालमा काम गर्ने भारतीय मजदुरका पीडा पनि यस्तै छन्। सात वर्षीया छोरी खुसी ठाकुरसहित दुईदिन पैदल हिँडेर तानसेनबाट भैरहवा आइपुग्नुभएको उमेश ठाकुर बेलहिया आएपछि रोकिए। जन्मथलो भारतको कोलहि गुडचीया जान हिडेका उनी श्रीमती, १४ वर्षीय अर्को एक छोरीसहित आएका हुन्। सात वर्षीय खुसीलाई खुसी दिन अधिकांश समय बोक्दै हिडेका उनी पाल्पाको तानसेनमा कपाल काट्ने नाउको काम गर्छन्। “लकडाउनको कारण बजार ठप्प भयो, अब केही कमाई नै नभएपछि के खाएर बस्ने भन्ने समस्या पनि भयो यतिकै बसेर खर्च मात्रै बढाउनुभन्दा घरतिर हिडेको हो” ठाकुरले भने।

नेगुवा महाराजगञ्ज जान हिडेका सुलिन कुमार लकडाउनको कारण सीमाबाट फर्काइए। चार जनाको परिवार लिएर तनहुँको डुम्रेबाट दुई दिन पैदल यात्रा गर्दै हिँडेका भोला जैसलवाल पनि सीमामै रोकिए।  जन्मथलो भारतको कोलुही जान हिँडेका जैसवाल डुम्रेमा चटपट बेच्ने काम गर्छन् भने ठाकुर बुटवलमा कार्पेन्टरको काम गर्छन्। 

ठाकुर र जैसवालसँगै काठमाडौँको बाफलमा कपडा सिलाउने काम गर्ने जोगी निषाद पनि लगातार ५ दिन हिँडेरै भैरहवा आइगरेका छन्।  भारतको गोरखपुरस्थित हरपुरहाट घर भएका निषाद सहितका २८ जना काठमाडाैंबाट हिडेर आएका हुन्। ठाकुर, जैसवाल र निषादसहित १५५ जना भारतीय मजदूर नेपालको विभिन्न ठाउँबाट पैदल हिडेर आफ्नो जन्मथलो घर जाने क्रमममा सीमामा रोकिएका छन्। भारत जाने क्रममा बेलहिया सीमामा रोकिएका १५५ जना मजदूरलाई स्थानीय सिद्धार्थनगरपालिका भैरहवाले निमा प्रतिमान प्राविधिक शिक्षालयमा बनाइएको क्वारेन्टाइनमा राखेको छ।

मङ्गलबार साँझदेखि क्वारेन्टाइनमा बसेका उनीहरुलाई सिद्धार्थ नगरपालिका भैरहवाले दैनिक दुई पटक नास्ता र बिहान साँझ खानाको व्यवस्थासहित व्यवस्थित ढङ्गले कोठाहरुमा राखेको सिद्धार्थनगरका वरिष्ठ अधिकृत गणेश क्षेत्रीले बताए। क्षेत्रीका अनुसार क्वारेन्टाइनमा बसेका मजदूरहरुको स्वास्थ्य अवस्था नियमित रुपमा जाँच गर्न नगरको स्वास्थ्य शाखा प्रमुख सहितको टोली खटिएको छ। चौध जना महिला र १४१ जना पुरुष रहेको उक्त क्वारेन्टाइनमा रहेका भारतीय मजदूरहरु लकडाउनको कारण काम बन्द भएपछि अर्काको देशमा यत्तिकै बस्दा खर्च जोहो गर्न समस्या हुने भएर आफ्नै देशतर्फ फर्किन लागेको बताएका छन्। 

चाँदबारी गोरखपुरका बाबुलाल साहनीले भने, “पानी पनि किनेर खानुपर्ने शौचालय जादा पनि पैसा तिर्नुपर्ने काठमाडौँजस्तो ठाउमा दुई दिन खाली बस्दा त समस्या हुन्छ अनि यतिका दिन बन्द भएपछि कहाँ बस्नु ? यसैले हामी त आफ्नै गाउघरतिर जान लागेको हो।” बाध्यतात्मक अवस्थाका कारण लागू गरिएको लकडाउनले मजदूरहरु वर्गलाई निकै समस्यामा पारेकोले सरकारले उनीहरुको समस्यालाई ध्यानमा राख्दै श्रमिकको हित अनुसारको राहतका कार्यक्रम पनि घोषणा गरेको क्वारेन्टाइनमा बसेकाको अवस्था बुझ्न जानुभएका प्रदेश नं ५ का प्रदेशसभा सदस्य भुमिश्वर ढकालले बताए। 

संसारभर फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९ ) को सङ्क्रमण फैलिन नदिन विश्वका अधिकांश मुलुकले लकडाउन घोषणा गरेका छन्। भारतमा जनता कर्फयू जारी छ। जसका कारण नागरिकलाई हिँडडुलमा नै प्रतिबन्ध लगाइएको छ। तर अधिकांश मजदूरहरु लकडाउनलाई छल्दै हप्तौँसम्म पनि पैदलै हिडेर घर पुग्ने प्रयास गरिरहेका छन्। यतिबेला दसगजामा कडाइ गरिएपछि भारतमा कामगर्ने नेपालीहरु भारतमै त नेपालमा काम गर्ने भारतीय मजदुर नेपालकै सीमावर्ती क्वारेन्टाइमा दिन कटाइरहेका छन्। यो अवस्थामा दिन काटिरहेका उनीहरुलाई अहिले रोगको भय भन्दा पनि काम रोकिएकोमा चिन्ता छ। रासस

प्रकाशित मिति: १५:३३ बजे, शुक्रबार, चैत २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्