सेनाले स्वास्थ्य सामग्री खरिद गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकारमा देखियो: पौडेल
काठमाडौं, चैत २१ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिदमा भएको अनियमि....

काठमाडौं, चैत २१ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानविन गर्न माग गरेका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत नेता पौडेलले भ्रष्टाचारमा जो सुकै संलग्न भए पनि तत्काल छानविन गरी कारवाही गर्न माग गरेका हुन्।
नेता पौडेलले स्वास्थ्य सामाग्री खरिदमा अहिले पनि सरकार दुविधामा रहेको भन्दै असन्तुष्टि जनाए। उनले स्वास्थ्य सामग्री खरिदमा सरकारमा रहेका मन्त्रीहरु जी-टु-जीमार्फत खरिद सम्भव नहुने बताउने तर मन्त्रिपरिषद्ले त्यही निर्णय गरेर आम मान्छेलाई दुविधा बनाएको बताए।
उनले यो सबै दुविधा कतै स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार ढाकछोपका लागि त होइन भन्ने शंका व्यक्त गरे। वरिष्ठ नेता पौडेलले सेनाले खरिद गर्दा अख्तियारले छानविन गर्दैन भन्ने मानसिकतामा सरकार देखिएको बताए। सबै कुरा सेनालाई दिनुपर्ने अन्य क्षेत्र प्रति किन अविश्वास सृजना गरिँदै छ ? उनले प्रश्न गरे।
संकटको बेलामा स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण भन्दै पौडेलले चीनमा कोरोनाको संक्रमण देखिएकै बेलादेखि किन सरकार पर्याप्त तयारीमा नलागेको भनि प्रश्न गरे। पौडेलले भ्रष्टाचारका कारण सरकारमा जनताप्रतिको सेवाभाव हराएको बताउँदै भ्रष्टाचार गरेको पैसाले चुुनाव कब्जा गर्ने मनोवृति देखिएको आरोप लगाए।
वरिष्ठ नेता पौडेलले कोरोनाको संक्रमणले संघीयताको औचित्य पुष्टि भएको बताए । उनले स्थानीय तहले संकटका बेलामा देखाएको कामले संघीयता र स्थानीय तहको अधिकार आवश्यक थियो भन्ने पुष्टी भएको बताए। उनले क्वारेन्टाइन बनाउनेदेखि गरिब विपन्नलाई राहत दिने जस्ता काम स्थानीय तहले गरेकोमा प्रशंसा समेत गरे।
पौडेलले स्थानीय तहमा जनप्रतिनीधिलाई प्रशिक्षित बनाउन सकेको भए संकटका बेलामा अझै क्षामता देखाउन सक्ने पनि स्पष्ट पारे। पौडेलले राज्यले केही राम्रा काम गरेको भएपनि प्रयाप्त काम गर्न नसकेको भन्दै असन्तुष्टी जनाए। उनले राज्यको भूमिकाबारेमा सरकारमा बसेकाहरुले नजरअन्दाज गरेको बताउँदै संकटका बेलामा राज्यको भूमिका खड्किएको आम नागरिकले महशुस गरेको बताए।
पौडेलले कोरोना भाइरसको संक्रमणबाट नेपालमा आतिनुपर्ने अवस्था नभएको भन्दै संयमित भएर सरकारले जारी गरेको लकडाउनलाई विवेकपूर्ण उपयोग गर्न आम नागरिकलाई आपिल गरे। पौडेलले कोरोना भाइरसका कारण विश्वमा हराउँदै गएको मानवियता र वातावरण विरोधी कामको समिक्षा गर्नुपर्ने बेला आएको पनि बताए।
उनले विश्वलाई बजारीकरणका कारण गुमाउँदै गएको मानव मानवबीचको सदभाव र मानवियता देखाउने अवसर मिलेको पनि उल्लेख गरे। विकासको मोडेल पनि परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै पौडेलले प्रकृति मैत्री विकासको मोडेललाई आगाडि बढाउन विश्व लाग्नुपर्ने बताए।
वरिष्ठ नेता पौडेलले संक्रमण फैलिएका मुलुकबाट आएका नागरिकको पहिचान गर्न नसकेको कारण आम नागरिकमा त्रास फैलिएको भन्दै विदेशबाट आएका नागरिकलाई स्वास्थ्य सेवाको पहुँच जान आग्रह गरे। उनले आम नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई स्थानीय स्तरमा आफैं निर्वाचित जनप्रतिनीधि जस्तो भएर आफु र आफ्नो समाज जोगाउने काम लाग्नसमेत निर्देशन दिए।











