ज्वरो आएर मृत्यु भएकी युवतीको शव छुट्टै राखियो, स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
चितवन, चैत २१ : ज्वरो आएर अस्पताल भर्ना भएकी युवतीको मृत्यु भएपछि शव छुट्टै राखिएको छ। उनको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा....

चितवन, चैत २१ : ज्वरो आएर अस्पताल भर्ना भएकी युवतीको मृत्यु भएपछि शव छुट्टै राखिएको छ। उनको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्न लागिएको छ।
आज बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईको मृत्यु भएको थियो। उनको स्वाब परीक्षण गर्न केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइने लागिएको छ। उनको शवलाई भने छुट्टै राखिएको अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले बताए।
अस्पतालका अध्यक्ष डा.अधिकारीका अनुसार बिहीबार राति उषालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। राति १२ बजे अस्पताल ल्याइएकी उनको सघन उपचारकक्षमा उपचारकै क्रममा आज बिहान २ बजे मृत्यु भएको हो।
उनको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्न लागिएको डा.अधिकारीले बताए। उनको मृत्युको कारणबारे नतिजा आएपछि थाहा हुने भएकाले उच्च सावधानी अपनाइएको उनको भनाइ छ।
कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सिन्धुलीको हरिहरपुर गाउँपालिकाकी उषालाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको हो।
अस्पतालमा हरेक महीना विभिन्न कारणबाट ५० देखि ५५ जनाको मृत्यु हुने गरेको उनले बताए। यद्यपि ज्वरोका बिरामीको उपचारका क्रममा मृत्यु भएमा स्वाब परीक्षण गर्न थालिएको जनाएको छ।











