भ्रष्टाचार विरोधी अभियन्ताका नाममा ठगी धन्दा चलाएको आरोपमा चार पक्राउ
प्रहरीले गोकर्णेश्वर बस्ने ३१ वर्षीय राजु सुनार, २६ वर्षीय आदर्श क्षेत्री, २० वर्षीय अस्मिता खत्री र ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठलाई पक्राउ गरेको छ।काठमाडौं, असार ४ : भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै गैरकानुनी रूपमा संस्था खोलेर ठगी धन्दामा लागेको आरोपमा प्रहरीले मंगलबार चार जनालाई पक्राउ गरेको छ।
गोकर्णेश्वर नगरपालिकामा ‘बेथिति एवं भ्रष्टाचारविरूद्ध अभियान, २०८०’ नामकको संस्था खोलेर गैरकानुनी रूपमा रुकम असुली गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीले गोकर्णेश्वर बस्ने ३१ वर्षीय राजु सुनार, २६ वर्षीय आदर्श क्षेत्री, २० वर्षीय अस्मिता खत्री र ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठलाई पक्राउ गरेको छ।
पक्राउपछि गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा संस्थाको शाखासमेत विस्तार गरेको तथ्य समेत खुलेको छ। प्रहरीका अनुसार उनीहरुले विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, उपभोक्ता समिति, संघसंस्थामा गएर आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्दै चिनाउने गरेका थिए।
पक्राउ परेको व्यक्तिले विभिन्न संघसंस्थाहरुमा पुगेर भ्रष्टाचार गरेको, कर छली गरेको, आर्थिक अनियमितताका बिषयमा उजुरी परेको, छानबिन गर्न आएको भन्दै हिसाबकिताब माग्ने र आतंक सिर्जना गर्ने गरेको भन्दै पीडितबाट प्रहरी वृत्त बौद्धमा उजुरी परेपछि प्रहरी परिचालन गरिएको थियो।
उनीहरुले भिडिओ बनाएर अनाधिकृत तवरले रकम समेत असुली गरेको समेत भेटिएको छ।