प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको शिष्टाचार भेट
भेटमा प्रधानमन्त्री दाहालले स्थिर विकास साझेदार विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गसँग आफू नेतृत्वको सरकारले आगामी आर्थिक नीति र बजेटमार्फत आर्थिक सुधारको थालनी गरेको बताए।-1718636376.jpeg)
काठमाडौं, असार ३ : प्रधानमन्त्री पुष्पकमल दाहालसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन्।
सोमबार साँझ बालुवाटारमा भएको भेटमा नेपालको विकास र विश्व बैंकले नेपालमा गर्दै आएको सहयोग लगायतका विषयमा छलफल भएको छ।
भेटमा प्रधानमन्त्री दाहालले स्थिर विकास साझेदार विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गसँग आफू नेतृत्वको सरकारले आगामी आर्थिक नीति र बजेटमार्फत आर्थिक सुधारको थालनी गरेको बताए।
यस्तै उनले वैदेशिक लगानी र विवेकपूर्ण वित्तीय व्यवस्थापनका लागि नेपालमा अनुकूल वातावरण सिर्जना गर्ने विश्वास दिलाएको दाहालको सचिवालयले जनाएको छ।
नेपाल जलवायु परिवर्तनबाट नराम्रोसँग प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलवायु न्यायका लागि नेपालले निरन्तर विभिन्न अन्तरराष्ट्रिय मञ्चमार्फत वकालत गर्दै आएको र त्यसमा विश्व बैंकको महत्त्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे।
विश्व बैंकका निर्देशक ट्रोस्टसेन्बर्गले नेपालको आर्थिक विकासमा विश्व बैंकबाट आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताए।
विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ। सोही बैठकमा सहभागी हुन नेपाल आएका ट्रोस्टसेन्बर्गले दाहालसँग आज भेट गरेका हुन्।











