स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन
उनले कृषि विज्ञानमा भर्ना हुने विद्यार्थी र भेटरेनरीमा आवेदन दिने विद्यार्थीको संख्या बढिरहेको तथा भेटरेनरी विषयमा विद्यार्थी संख्या शतप्रतिशत बढाउने पहल भइरहेको जानकारी पनि गराए।चितवन, असार ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका छन्।
सोमबार कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा उनले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिएका छन्।
‘देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि विश्वविद्यालयबाट प्राप्त ज्ञान दुपयोग गर्नुहोस्,’ उनले भने, ‘त्यसका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिन चाहन्छु।’
उनले कृषि विज्ञानमा भर्ना हुने विद्यार्थी र भेटरेनरीमा आवेदन दिने विद्यार्थीको संख्या बढिरहेको तथा भेटरेनरी विषयमा विद्यार्थी संख्या शतप्रतिशत बढाउने पहल भइरहेको जानकारी पनि गराए।
उनले प्राविधिक विश्वविद्यालयहरूले अनुसन्धानमार्फत् नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा आफ्नो सम्पूर्ण क्षमता र साधनस्रोत खर्चिनुपर्नेमा जोड दिए।
विश्वविद्यालयका वैज्ञानिकहरूले भैंसीको बेमौसमी प्रजनन्को प्रविधि, गहुँको गर्मी सहन गर्न सक्ने जातको विकासलगायतका प्रविधि विकास गरेकोप्रति उनले खुशी व्यक्त गरे।











