ट्यांकर चालक र सरकारबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता गर्ने
‘भर्खरै वार्ता सकियो। १५ दिनभित्र हामीले अघि सारेका सात बुँदे माग पूरा गर्ने सरकारी पक्षले प्रतिवद्धता जनाएको छ। सहमतिको खाका तयार गर्दैछौं, केही समयमा सार्वजनिक गछौंं,’ अध्यक्ष लामाले भने।-1718618059.jpg)
काठमाडौं, असार २ : आन्दोलनरत ट्यांकर चालक र सरकारबीच सहमति भएको छ। चालकहरुले उठाएका सात बुँदे माग १५ दिनभित्र पूरा गर्ने सरकारी प्रतिवद्धतापछि सहमति बनेको हो।
सोमबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, आयल निगमका कार्यकारी निर्देशकसहितको सरकारी टोली र नेपाल पेट्रोलियम ट्यांकर चालक संघका प्रतिनिधिबीच भएको वार्तापछि सहमति जुटेको चालक संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिए।
‘भर्खरै वार्ता सकियो। १५ दिनभित्र हामीले अघि सारेका सात बुँदे माग पूरा गर्ने सरकारी पक्षले प्रतिवद्धता जनाएको छ। सहमतिको खाका तयार गर्दैछौं, केही समयमा सार्वजनिक गछौंं,’ अध्यक्ष लामाले भने।
चालकहरुले पेट्रोलियम ढुवानी रोकेपछि काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ। चालकहरु हड्तालमा उत्रिएपछि थानकोट डिपोबाट इन्धनको वितरण प्रभावित भएको छ।
सात बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका हुन्। ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनुपर्नेलगायतका माग राखेका छन्।











