नेसपाले महिन्द्रराय यादवसहित तीन नेतालाई पार्टीबाट हटायो
आइतबार नेसपाले विज्ञप्ति निकालेर निर्वाचन आयोगको निर्णय अनुरुप यादवसहित तीन नेतालाई पार्टी सदस्यबाट हटाएको जानकारी गराएको हो। पार्टीबाट हटाउन नेसपाको निवेदन अनुरुप आयोगबाट उक्त विवरण अद्यावधिक भएको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं, असर २ : डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रसितनिधिसभा सदस्य महिन्द्रराय यादवसहित ३ नेताहरूलाई पार्टीबाट हटाएको छ।
आइतबार नेसपाले विज्ञप्ति निकालेर निर्वाचन आयोगको निर्णय अनुरुप यादवसहित तीन नेतालाई पार्टी सदस्यबाट हटाएको जानकारी गराएको हो। पार्टीबाट हटाउन नेसपाको निवेदन अनुरुप आयोगबाट उक्त विवरण अद्यावधिक भएको विज्ञप्तिमा उल्लेख छ। यादव प्रतिनिधिसभा सदस्य छन्।
नेसपाले पार्टीका सहअध्यक्षसमेत रहेका बागमती प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठलाई पनि पार्टीबाट हटाएको जनाएको छ।
श्रेष्ठ हाल बागमतीमा आन्तरिक मामिला तथा कानुन मन्त्री छन्। नेसपाले नेता रमेशप्रसाद यादवलाई पनि हटाएको विज्ञप्तिमार्फत जानकारी गराएको छ।
नेसपा कार्यालय प्रमुख रोशन पोखरेलले आइतबार निकालेको विज्ञप्तिमा यादवसहितलाई नेसपाको सदस्यबाट हटाइएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा यादवसहित नेताहरूलाई नेसपाको नाम, चुनाव चिह्न, लोगो र झण्डाको प्रयोग नगर्न पनि ध्यानाकर्षण गराएको छ।












