Kathmandu Press

अनधिकृत रुपमा समाचार हटाइएकोप्रति अनलाइन पत्रकार संघको आपत्ति

काठमाडौं, चैत २० : अनलाइन पत्रकार संघले काठमाडौंप्रेस डटकमबाट मंगलबार प्रकाशित ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल....

अनधिकृत रुपमा समाचार हटाइएकोप्रति अनलाइन पत्रकार संघको आपत्ति

काठमाडौं, चैत २० : अनलाइन पत्रकार संघले काठमाडौंप्रेस डटकमबाट मंगलबार प्रकाशित ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकको समाचार अनधिकृत रुपमा हटाएकोप्रति आपत्ति जनाएको छ।

संघले अनधिकृत रुपमा समाचार हटाउने कार्यमा देशको कार्यकारी प्रमुखको सल्लाहकारको समेत नाम जोडिएकोले सो विषयमा प्रधानमन्त्री केपी ओलीलाई गम्भीर हुन आग्रह गरेको छ। प्रधानमन्त्री स्वयंका सल्लाहकार (विष्णु रिमाल) को नामसमेत मुछिदा प्रधानमन्त्री ओलीबाट केही प्रतिक्रिया नआउँदा सम्पूर्ण अनलाइन सञ्चारकर्मी आश्चर्यमा परेको विज्ञाप्तिमा उल्लेख छ।

‘वेब डेभलपरले समाचार पोर्टलभित्र गएर कसैको बारेमा प्रकाशित समाचार हटाउनु आफैँमा गलत कार्य हो। यस्तो कार्य पत्रकारितालाई नियन्त्रणमा राख्ने र संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता हनन् गरी नागरिक अधिकार कुण्ठित गर्ने प्रयासका रुपमा हामीले बुझेका छौं,’ संघका अध्यक्ष शिवप्रसाद सत्यालकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित समाचारमा चित्त नबुझे लिनुपर्ने बाटोबारेमा कानूनले स्पष्ट गरेकै छ। समाचारमा कहीँ त्रुटी वा कमजोरी भए, त्यसलाई सच्याउन वा कानूनी सजाय भोग्न सम्बन्धित संचारमाध्यम तयार हुनुपर्छ। तर कानूनी उपचार खोज्नुको साटो साइटभित्र प्रवेश गरी समाचार नै हटाउने कार्य गलत भएको हाम्रो ठहर छ।’

यो घटनालाई संघले अनलाइन सञ्चारमाध्यमलाई नियमन र व्यवस्थित गर्ने नाममा पत्रकारितासँग साइनो सम्बन्ध नै नभएको सुशासन ऐनमा टेकेर ल्याइएको निर्देशिकालाई आधार मान्दै विभिन्न अनलाइन सञ्चारमाध्यमलाई बन्द गर्ने/गराउने, विभिन्न वहानामा अनावश्यक त्रास र भय उत्पन्न गराई स्वतन्त्र प्रेसको मर्ममाथि प्रहार गर्ने जस्ता अनलाइन सञ्चारमाध्यमलाई माध्यम बनाएर पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाई धज्जी उडाउने हर्कतको शिलशिला भएको पनि भनेको छ। संघले यो घटनाबारे छानविन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्न पनि माग गरेको छ।

संघले भनेको छ,‘अबका दिनमा अनलाइन सञ्चारमाध्यमहरुले पनि साइट डेभलपरसँग कानूनी रुपमा स्पष्ट सम्झौता गरी काम गर्न गराउन र सचेत हुन पनि सरोकारवाला सबैसँग आग्रह गर्दछौँ।’

प्रकाशित मिति: १८:३६ बजे, बिहीबार, चैत २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्