कृषकको दु:खेसो: गाईलाई खुवाउने आहार छैन, फुकाएर छाड्ने स्थिति आयो
काठमाडौं, चैत २० : कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुक लकडाउन गरेको छ। लकडाउन लम्बिँदै गएपछि आहारको संकट हुँदा गाईप....

काठमाडौं, चैत २० : कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुक लकडाउन गरेको छ। लकडाउन लम्बिँदै गएपछि आहारको संकट हुँदा गाईपालन व्यवसाय संकटमा परेको छ।
पहिलो चरणको लकडाउनको समयमा गाईका लागि आवश्यक दाना, भुस, पराल लगायत मुस्किलले जोहो गरेका गाईपालक कृषक लकडाउनको समय लम्बिएपछि मर्कामा परेका हुन्। लकडाउन थपिएसँगै दाना, भुसा, पराल लगायत आपूर्तिमा समस्या भएपछि मुलुकभरका गाईपालन व्यवसाय संकटमा परेका हुन्।
काठमाडौं उपत्यका र आसपासका जिल्लामा पनि गाईलाई खुवाउने दाना, भुसा, पराल पाइन छोडेपछि किसान आक्रोशित बनेका छन्। आहारको कमीले गाईको स्वास्थ्यमा प्रतिकुल असर पर्नुको साथै दुध उत्पादनमा कमी आएको छ भने उत्पादित दुधको व्यवस्थापन पनि हुन नसकेको किसानहरुको गुनासो छ।
निलबाराही मिश्रित कृषक समूहका अध्यक्ष एवं गाईपालक किसान ताराबहादुर भण्डारी र कृषक प्रदीप श्रेष्ठले गाईलाई खुवाउने आहारको अभाव भएकाले अब आफूहरु गाई फुकाएर छोड्न बाध्य हुने अवस्थामा पुगेको बताएका छन्।
‘सरकारले केही गरेर मान्छेलाई पालेजस्तै गाईवस्तु पनि पाल्नुपर्छ र बचाउनुपर्छ भनेपछि ठीकै छ। होइन भने फुकाएर छोड्ने भन्दा अब हामीसँग विकल्प छैन,’ श्रेष्ठले भने। गाईपालक किसान ताराबहादुर भण्डारीको गाई फाममा अहिले २० वटा गाई छन्। दाना अभावमा गाईको खानाको मात्रा घटाउँदा दूध उत्पादनमा पनि कमी आएको छ।
उत्पादित दुधको पनि बजार व्यवस्थापनमा समस्या भोग्नुपर्दा भण्डारी चिन्तित छन्। निलबाराही मिश्रित कृषक समूहमा ८० जना व्यवसायिक गाईपालक कृषक आवद्ध छन्। उनीहरुको फार्ममा झण्डै तीन हजार गाई छन्। यो समूहमा आवद्ध भएका गाईपालकले मात्रै दैनिक १६ हजार लिटर दूध उत्पादन गर्दै आएका थिए।
अहिले दानाको अभावमा उत्पादन घटेर चार हजार लिटरमा झरेको छ। त्यो दूधको पनि व्यवस्थापन हुन नसक्दा उनीहरु थप मर्कामा छन्। सरकारले तत्काल कुनै निर्णय नलिए गाईपालक किसान व्यवसायबाट नै पलायन हुनसक्ने अवस्था आउने गाईपालक किसान भण्डारीले बताए। ‘लकडाउन लम्बियो भने धेरै प्रतिशत मान्छेहरु यो व्यवसाय छोडेर भाग्नुपर्ने स्थिति छ। बैंकको ऋणले डुब्ने स्थिति छ। घरघडेरी जाने स्थिति छ,’ उनले भने,‘सरकारले बेलैमा ध्यान देओस्।’
अर्का कृषक रविन शर्मा लकडाउनका समयमा सरकारले सबैलाई राहतको व्यवस्था गरेपनि गाईपालकका समस्या सम्बोधन नगरेको गुनासो गरे। उनले गाईलाई खुवाउने दाना र उत्पादित दूध व्यवस्थापनको प्रबन्ध सरकारले मिलाइदिए अरु केही नचाहिने बताए।
काठमाडौं उपत्यकामा झण्डै ५ लाख गाई रहेको अनुमान छ। गाईपालकहरु लकडाउनको समय थपिँदै जाने क्रमसँगै गाईको आहारमा समस्या हुँद काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै सयाैं गाई खान नपाएर मर्ने अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
उनीहरुले गाईलाई आवश्यक पर्ने दाना, भुसा र परालको सहज आपूर्तिको समयमै व्यवस्था गर्नुको साथै उत्पादितको दूध व्यवस्थापनको प्रबन्ध मिलाउन पनि माग गरेका छन्। उनीहरुले सरकारले गाईपालक कृषकका लागि तत्काल राहत प्याकेज घोषणा गर्नु पर्ने माग गरेका छन्।











