Kathmandu Press

लकडाउनमा राहत लिन असहाय, अतिविपन्न र मजदूरलाई मेयर शाक्यको आग्रह

काठमाडौं, चैत २०ः काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले लकडाउनको समयमा असहाय, अतिविपन्न र मजदूरले मात्रै राहत लिन आग्रह गरेका छन्।

लकडाउनमा राहत लिन असहाय, अतिविपन्न र मजदूरलाई मेयर शाक्यको आग्रह

काठमाडौं, चैत २०ः काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले लकडाउनको समयमा असहाय, अतिविपन्न र मजदूरले मात्रै राहत लिन आग्रह गरेका छन्।

मेयर शाक्यले अपिल जारी गर्दै सरकारले घोषणा गरेको दुई हप्ते लकडाउनलाई उल्लंघन गर्ने छिटफुट गतिविधिहरू हुन थालेको जनाउँदै त्यसलाई जिम्मेवार ढंगले पूरा गर्न सबैलाई आग्रह गरेका छन्। ‘कोरोना संक्रमणलाई सामान्य रूपमा लिनु ठूलो गल्ती हुन सक्ने भएकोले लकडाउन घोषणालाई पूर्ण पालना गरी घरैमा बसेर कोरोना संक्रमणविरुद्धको राष्ट्रिय अभियानलाई सहयोग पु¥याइ दिनुहुन सम्पूर्ण महानगरवासीमा पुनः एक पटक हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन।, अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन पनि उनले आग्रह गरेका छन्।  

मेयर शाक्यले अमेरिकालगायत ठूला र विकसित देशहरूमा अहिले महामारीका रूपमा संक्रमण फैलिनुको एक मात्र कारण सरकारद्वारा घोषित लकडाउनको वेवास्ता गर्नुले नै हो भन्ने कुरालाई हेक्का राख्दै आमनेपाली अझ बढी सचेत र सतर्क हुनु आवश्यक रहेको पनि उल्लेख गरेका छन्।  

‘सरकारले लकडाउन अवधिभर सम्पूर्ण असहाय, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिहरूलाई राहत प्रदान गर्ने निर्णय गरेको र त्यसको लागि स्थानीय निकायले लगत संकलन कार्य अघि बढाइएको छ,’ उनले जारी गरेको अपिलमा भनिएको छ, ‘यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले पनि महानगरभित्र तत्काल राहत वितरण कार्यलाई सहज र व्यवस्थित गर्न कामपा कोरोना भाइरससम्बन्धी राहत वितरण मापदण्ड, २०७६ पारित गरिसकेको छ।’

उनले अभिभावक नभएका, आयश्रोत तथा जायजात नभएका, वृद्धाश्रम, संरक्षणगृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित, आम्दानीको स्थायी स्रोत नभएका, दैनिक गुजारा गर्न धौधौ पर्ने महानगरवासीलाई राहत वितरण सुरु गरेको पनि जानकारी दिएका छन्।

महानगरभित्र दैनिक ज्याला मजदूरी गर्दै आएका कामदार तथा मजदूरलाई पनि राहत वितरणका लागि ३२ वटै वडाका जनप्रतिनिधि खटिरहेको पनि उल्लेख गर्दै भनेका छन, ‘काठमाडौं महानगरपालिकाले संकटमा परेका असाहय, अतिविपन्न र दैनिक ज्याला मजदूरी गर्दै आएका कामदार तथा मजदूरलाई मात्रै राहत उपलब्ध गराउने भएकाले अन्य व्यक्ति एवं परिवारले राहत सामग्री नलिइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु।’

राहत सामग्री लिने र दिने व्यक्ति र संस्थाले पनि राहत वितरण गर्दाको समयमा पटक्कै भीडभाड नगरी शान्त एवं सभ्य तरिकाले ग्रहण र वितरण गरिदिनु हुन अपिल गरेका छन्।

उनले भनेका छन्,  ‘महानगरभित्र सक्रिय संघ, संस्था, क्लब, गुठी आदि जस्ता निकायहरूले आफ्नै श्रोतबाट राहतजन्य कुनै कार्य गर्न लागेको छ भने वडा कार्यालयहरूसँगको समन्वयमा मात्र सम्पन्न गर्न पनि अनुरोध गर्दछु।’

 

प्रकाशित मिति: १०:५८ बजे, बिहीबार, चैत २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्