Kathmandu Press

लकडाउनले सीमा क्षेत्रमा सयौं नेपाली अलपत्र

बैतडी, चैत २० : लकडाउनका कारण नेपाल आउन नदिएपछि सीमा क्षेत्रमा सयौं नेपाली अलपत्र परेका छन्। सुदूरपश्चिमका विभिन्न सीमा क्षेत्रमा पाँच दिनदेखि अलपत्र ....

लकडाउनले सीमा क्षेत्रमा सयौं नेपाली अलपत्र

बैतडी, चैत २० : लकडाउनका कारण नेपाल आउन नदिएपछि सीमा क्षेत्रमा सयौं नेपाली अलपत्र परेका छन्। सुदूरपश्चिमका विभिन्न सीमा क्षेत्रमा पाँच दिनदेखि अलपत्र नेपालीलाई भारतीय प्रशासनले सहारा दिएको छ।

चार दिनदेखि बैतडीको सीमामा अलपत्र परेका नेपाली मजदुरहरुलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ। बैतडीसँग सीमा जोडिएको झुलाघाटमा आइतबारदेखि अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको हो।

लकडाउनका कारण सीमानाका बन्द भएपछि सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। झुलाघाटस्थित तालेश्वरमा रहेको धर्मशालामा ५७ र खरक्युडा, जामीरपानी र रज्यौडामा रहेका आधारभूत विद्यालयहरुमा १७० गरेर २२७ जना मजदुरलाई क्वारेन्टाइनमा राखिएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए।

सबै मजदुरको स्वास्थ्य परीक्षण गरिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। क्वारेन्टाइनमा राखिएका नेपाली मजदुरहरुको डा.सचिनप्रकाश देवल र डा.कल्पित रौतेलाको टोलीले स्वास्थ्य परीक्षण गरेको हो। क्वारेन्टाइनमा राखिएका नेपाली मजदुरहरुका लागि निःशुल्क खानाको व्यवस्था गरिएको पत्रकार भट्टले बताए।

जिल्ला प्रशासन कार्यालय पिथौरागढको पहलमा नेपाली मजदुरहरुलाई क्वारेन्टाइनमा राखिएको हो। नयाँ वर्षका लागि घर फर्कन लागेका नेपालीहरु लकडाउनका कारण सीमामा अलपत्र परेका छन्। कतिपय नेपालीहरु महाकाली नदीमा ट्युबका माध्यमबाट तरेर नेपाल भित्रिरहेका छन्। भारतबाट नेपाल भित्रिएकाहरुलाई क्वारेन्टाइनमा राखिएको स्थानीय तहहरुले जनाएका छन्।

यता प्रमुख जिल्ला अधिकारी पौडेलले अर्को आदेश नभएसम्म सीमानाका खोल्न नसकिने बताए। लकडाउनका बेलाले आआफ्नो ठाउँमा सुरक्षित बस्नुपर्ने भएकाले सीमानाका नखुल्दासम्म मजदुरहरुलाई नेपाल भित्र्याउन नसकिने उनको भनाइ छ। यसअघि पनि लकडाउनका बेला झुलाघाट नाका खोली २०२ जनाको उद्धार गरिएको थियो ।  

त्यस्तै, दार्चुलामा पाँच दिनदेखि आठ सय नेपाली अलपत्र छन्। भारतको विभिन्न शहरबाट आएका उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको छैन। दार्चुला पुल नदोलेपछि उनीहरु पाँच दिनदेखि भारतको धार्चुलामा बसिरहेका छन्।

भारतीय प्रशासनले नै उनीहरुका लागि खानपिन र बसोबासको व्यवस्था गरेको छ। उनीहरुमध्ये तीन जना महाकालीमा पौडी खेलेर नेपाल आएका थिए। उनीहरुलाई भने स्थानीय प्रशासनले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ।

त्यस्तै, भारतका विभिन्न शहरमा पनि नेपाली मजदूर अलपत्र परेका छन्। भारत सरकारले लकडाउन घोषणा गरेपछि चार सय नेपाली नागरिक अलपत्र परेका हुन्। अलपत्र परेका नेपाली नागरिकमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका रहेका भारतको दिल्लीमा बिचल्लीमा परेका बैतडीको दोगडाकेदार–८ कालागाँउका डम्बर बिष्टले जानकारी दिए।

बैंग्लोरबाट घर फर्किन भने आएका बैतडीका ५० जना दिल्लीमा १० दिनदेखि अलपत्र परेको उनले बताए। 'बैंग्लोरबाट रेलमा चढेर घर फर्किँर्दै गर्दा दिल्ली पुुग्दा लकडाउनले रेलसेवा बन्द भयो,' उनले भने, 'लकडाउनले रेलसेवा बन्द हुनुुका साथै सम्पूर्ण सवारी बन्द हुुँदा बीच बाटोमै अलपत्र परेका हौँ।'

लकडाउनमा भारतीय प्रहरीले देख्ने बितिक्कै लखेट्ने गरेको उनले दुःखेसो गरे। खान बस्नसमेत निकै समस्या भएको उनले बताए।

भारतस्थित नेपाली राजदूतावासमा उद्धारका लागि गुहारेको भए पनि केही सुनुुवाइ नभएको दोगडाकेदारकै अर्का वीरेन्द्र विष्टले बताए।  'दूतावासलाई पनि नेपालसम्म पुर्याउन आग्रह गरिसक्यौँ,' उनले भने, 'अलपत्र परेको १० दिन भइसक्दासमेत केही पहल भएन।'

उनीहरुले आफूहरुको उद्धार गरिए १४ दिनसम्म क्वारेन्टाइनमा बस्न तयार भएको बताएका छन्। अलपत्र परेपछि भएको पैसा सकिएको र अब घर पुुग्नसमेत पैसा नभएको उनीहरुको गुनासो रहेको छ। (राससको सहयोगमा)

प्रकाशित मिति: ०९:५४ बजे, बिहीबार, चैत २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्