Kathmandu Press

दशगजा क्षेत्रमा तीन दिनदेखि सयौं नेपाली अलपत्र

नेपालगञ्ज, चैत १९ : भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६३ नेपाली तीन दिनदेखि नेपाल भारत सीमाको दशगजा क्षेत्रमा अलपत्र परेका छन्।

<....
दशगजा क्षेत्रमा तीन दिनदेखि सयौं नेपाली अलपत्र
फाइल

नेपालगञ्ज, चैत १९ : भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६३ नेपाली तीन दिनदेखि नेपाल भारत सीमाको दशगजा क्षेत्रमा अलपत्र परेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरसँग सिमाना जोडिएको नेपाल–भारत सीमाक्षेत्रको दशगजामा उनीहरु उद्धारको पर्खाइमा छन्। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन नेपाल र भारत दुबै देशले नेपाल–भारत जमुनाह नाका बन्द गरेका कारण भारतका विभिन्न स्थानबाट आएका नेपाली नागरिक सीमामा आइपुगेपनि स्थानीय प्रशासनले अनुमति नदिँदा अलपत्र परेका हुन्।

मङ्गलवार खाना र खाजाको व्यवस्था गर्नुभएकी नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले आफुहरुले चाहेर पनि उनीहरुलाई नेपाल प्रवेश गराउन नसकेको बताइन्। उनका अनुसार, सीमा नाकामा बाँकेका २७, बर्दियाका १४, दाङका ३१, सल्यानका ९, जुम्लाका १५, सुर्खेतका ७, डोल्पाका ३, अछामका ५, प्युठानका २, रोल्पाका १३, रुकुमका १०, सप्तरीका १, उदयपुरका १, स्याङ्जाका २, दैलेखका १०, झापाका ५, रुपन्देहीका १, नवलपरासीका २, मुगुका २ र अर्घाखाँचीका १ जना रहेका छन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपाल–भारत सीमा नाकाबाट कसैलाई पनि प्रवेश गराउने अनुमति नभएको बताए।  “उनीहरुलाई सीमा क्षेत्रमै राखेर खानेबस्ने व्यवस्था मिलाएका छौँ, उनीहरु उतै क्वारेन्टाइनमा बस्नेछन्”, उनले भने, “अबैध बाटो भएर नेपाल प्रवेश भएकालाई क्वारेन्टाइनमा राखेर खानपिनको व्यवस्था मिलाएका छौं।” 

नेपालगञ्जसहित जिल्लाका विभिन्न नाकामा सयौंको सङ्ख्यामा नेपाली अलपत्र परेका छन्। उनीहरु दसगजासम्म आएर बसेपनि गृहमन्त्रालयको आदेश नभएको भन्दै बाँके प्रशासनले रोक लगाएपछि अलपत्र परेका हुन्।  

राप्तीपारी नरैनापुरस्थित विभिन्न नाकाबाट प्रवेश भएका डेढ सय बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ। स्थानीय प्रशासनले नेपालगञ्ज नाकाबाट प्रवेशमा रोक लगाएकाले नरैनापुर क्षेत्रबाट नेपाल प्रवेश हुने क्रम बढिरहेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।
 

प्रकाशित मिति: १६:३८ बजे, बुधबार, चैत १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्