कृषकलाई राहत दिन छुट्टै बैंकिङ प्रणालीको विकास गर्नुपर्छ : डा. राणा
सांसद डा. राणाले समयमै भुक्तानीको व्यवस्था गर्न सरकारले त्यसखालको बैंकिङ प्रणालीको विकास गर्न आवश्यक रहेको उल्लेख गरिन्।
काठमाडौं, जेठ २२ : कांग्रेस सांसद डा. आरजु राणा देउवाले कृषकलाई राहत दिन छुट्टै बैंकिङ प्रणालीको विकास गर्न सुझाव दिएकी छिन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद डा. राणाले समयमै भुक्तानीको व्यवस्था गर्न सरकारले त्यसखालको बैंकिङ प्रणालीको विकास गर्न आवश्यक रहेको उल्लेख गरिन्।
उनले कृषि क्षेत्रमा प्राविधिक जनशक्ति बढाउन सरकारलाई सुझाइन्। उखु, दूध कृषकले समयमै भुक्तानी नपाएको गुनासो आइरहेको भन्दै उनले त्यो समस्या हल गर्न आग्रह गरिन्।
छहरेक वर्ष यो दूध कृषकहरू र उखु कृषकहरूको पेमेन्ट नपाएको कुरा अगाडि आउँछ। यसका लागिचाहिँ सरकारले इर्मेजेन्सीको रूपमा लास्ट टाइममा आएर पैसा दिनुको सट्टा एउटा बैकिङ मेकानिजम खडा गर्न म अर्थमन्त्रीज्यूलाई रिक्वेस्ट गर्न चाहन्छु,’ सांसद डा. राणाले भनिन्।
बैंकमा सहुलियत दरमा डेरीहरू र मिलहरूले रकम राख्ने र पेमेन्ट भौचरको आधारमा तुरुन्तै कृषकले आफ्नो रकम पाउने व्यवस्था मिलाउन सके कृषक र सरकार दुवैलाई राहत हुने उनले बताइन्।
सरकारले कृषि लगानी दशकका रूपमा घोषणा गरे पनि त्यस क्षेत्रको बजेट घटाउनु उपयुक्त नभएको उनले बताइन्।












