Kathmandu Press

उत्तेजक अभिव्यक्ति बन्द गर्न बालेनलाई भट्टराईको सुझाव

उत्तेजक अभिव्यक्ति बन्द गर्न बालेनलाई भट्टराईको सुझाव

काठमाडौं, जेठ २२ः नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेता भट्टराईले काठमाडौं महानगरका मेयर शाहले राजनीतिक व्यवस्था परिवर्तनको संवाहक राजनीतिक दलका नेताहरुको जेलजीवनको उपहास गरेकामा आपत्ति जनाए। 

Hardik ivf

‘हामी काठमाडौं महानगरपालिकाका प्रमुखलाई सहयोग गर्न तयार छौं। एमालेका अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सहयोग गरेको हो,’ सांसद भट्टराईले प्रमुख शाहप्रति लक्षित गर्दै भने, ‘काठमाडौंलाई अझ सुन्दर बनाउन तपाईंको योजना के छ? आउनुस् हामी सँगै काम गरौँ। उत्तेजना फैलाउने उच्छृंखल गतिविधि नगर्न म आग्रह गर्छु।’

सांसद भट्टराईले सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारीका तमाम नीतिगत समस्याका सन्दर्भमा स्पष्ट धारणा पेस गर्ने विश्वास व्यक्त गरे। उनले सबै प्रकरणमा आफ्नो पार्टी अनुसन्धानका लागि तयार भएको पनि बताए।

‘गिरिबन्धुको विषयलाई लिएर हाम्रो पार्टी, पार्टी अध्यक्षमाथि नियोजित ढंगले आक्षेप लगाइएको छ,’ सांसद भट्टराईले भने। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनमा अवरोध गरेका कारण जनताका धेरै विषय सदनमा उठाउन नसकिएको उनले बताए।

काठमाडौं महानगरका मेयर शाहले गिरीबन्धु जग्गा प्रकरणमा केपी ओलीको संलग्नताबारे सामाजिक सञ्जालमा लेखेको टिप्पणीप्रति भट्टराईले संसदमा यस्तो धारणा राखेका हुन्।

प्रकाशित मिति: १४:०६ बजे, मंगलबार, जेठ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्