मनसुनको पूर्वतयारी प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण
सांसद रघुजी पन्तले मंगलबारको प्रतिनिधिसभा बैठकमा मनसुनको समयमा बाढि पहिरो र डुबानबाट बच्नको लागि पूर्व तयारी आवश्यक रहेको भन्दै तीनै तहका सरकार र सरोकारवाला निकायलाई प्रभावकारी कार्ययोजनासहित अहिलेबाटै पूर्ण तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिए।-1717482707.jpg)
काठमाडौं, जेठ २२ : सांसदहरुले यस वर्षको मनसुनबाट हुनसक्ने मानवीय र भौतिक क्षति कम गर्नलाई सरकारलाई पूर्व तयारी प्रभावकारी बनाउन आग्रह गरेका छन्।
एमाले सांसद रघुजी पन्तले मंगलबारको प्रतिनिधिसभा बैठकमा मनसुनको समयमा बाढि पहिरो र डुबानबाट बच्नको लागि पूर्व तयारी आवश्यक रहेको भन्दै तीनै तहका सरकार र सरोकारवाला निकायलाई प्रभावकारी कार्ययोजनासहित अहिलेबाटै पूर्ण तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिए।
‘बाढी, पहिरोबाट धेरै मानिस प्रभावित हुने भनेर राष्ट्रिय विपत्त प्राधिकरणले भनिरहेको छ। तर, जोखिमलाई कम गर्न पूर्वतयारी के छ? बाढी पहिरो र डुबानबाट बच्नको लागि राम्रो तयारी अहिलेदेखि गर्नुपर्यो, उनले भने, ‘त्यसको बारेमा प्रदेश सरकार र सम्बन्धीत निकायलाई कसरी योजना र प्रक्रियामा सामेल गराउने हो सरकारले त्यता ध्यान दिनुपर्यो।’
यस्तै, सांसद मानवीर राईले पनि सरकारले मनसुनको पूर्व तयारीको लागि गरेका कार्यबारे चासो दिएका छन्।
सोलुखुम्बु जिल्ला बाढी र हिम पहिरोको जोखिममा रहेको स्मरण गराउँदै उनले विपदजन्य प्राकृतिक प्रकोपको पूर्वतयारी गर्दा सोलुखुम्बु जिल्लालाई समेत प्राथमिकता दिन आग्रह गरे।
‘मनसुन सुरु हुन लागेको छ । सोलुखुम्बु जिल्ला बाढी पहिरो र हिम पहिरोको जोखिममा परेको हुनाले मनसुनमा हुनसक्ने क्षतिबारे तयारीका लागि सरकारलाई आग्रह गर्दछु,’ उनले भने।
उनले सोलुको थुलुङ दूधकोशी र नेचासल्याण गाउँपालिकामा एक महिना अगाडि आगलागीमा परेका १४ घर परिवारका लागि बासस्थानको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
‘थुलुङ दूधकोशी गाउँपालिका र नेचासल्याण गाउँपालिकामा एक महिना अगाडि १४ घर जलेर नष्ट भएका छन्। उहाँहरुको घरबासको व्यवस्थाको लागि सरकारसँग माग गर्न चाहान्छु,’ उनले भने ।
यस वर्षको मनसुन जेठ ३१ गतेबाट असोजको १८ सम्म आउने अनुमान मौसम विभागले गरेको छ। यो अवधीभर अत्याधिक वर्षाका कारण बाढी, पहिरो र डुबानबाट ४ लाख १२ हजार घरपरिवारका १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ। त्यसमध्य
सबैभन्दा धेरै प्रभावित हुने कोशी प्रदेश हुने र मनसुनको कम प्रभाव कर्णाली प्रदेशमा पर्ने अनुमान सरकारको छ।












