प्रतिनिधि सभामा बजेट माथि छलफल चल्दै गर्दा निदाए चित्रबहादुर केसी

काठमाडौं, जेठ २१ः सांसद चित्रबहादुर केसीले बजेटमाथि छलफल चल्दै गर्दा आफु निदाएको बताएका छन्। सत्तापक्षले संसदमा दिइएको सुझाव पालना नगर्ने भएकाले छलफलको कुनै अर्थ नरहेको र संसद दिक्कलाग्दो बन्दै गएको गुनासो गर्दै आफु छलफलकै क्रममा निदाएको बताएका हुन्।
केसीले सत्तापक्षले पेस गरेको बजेटमा तलमाथि गर्न नपाएपछि छलफलको औचित्य नभएको टिप्पणी गरेका छन्। आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा उनले जस्तो बजेट आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भन्दै छलफलको आवश्यकता नभएको बताएका हुन्।
‘यहाँ जति नै उफ्रिएपनि सत्ता पक्षले पेस गरेको बजेट एक सुका, एक आना जति भनेपनि तलमाथि गर्न नपाइने, यहाँ जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि छलफलको पनि औचित्य छ जस्तो मलाई लाग्न छोड्यो,’ उनले भने।
यसको साथै, संसद दिक्क लाग्दो बन्दै गएको भन्दै बजेटमा समाजवाद उन्मुख कुनै कार्यक्रम प्रस्तुत नगरिएको पनि उनले गुनासो गरे।
‘म त यो छलफलको कुरा सुन्दा एकछिन निदाएछु पनि, यस्तो पो भयो। रमाइलो छैन संसद, दिक्कलाग्दो छ। त्यसकारण यहाँ कुराहरु धेरै आए, नेपालको संविधानमा व्यवस्था गरे बमोजिम समाजवाद उन्मूख शासन व्यवस्था निर्माणको लागि बजेटमा त्यस सम्बन्धी ठोस कार्यक्रमको व्यवस्था गर्नुपर्ने थियो। तर प्रस्तुत बजेटमा समाजवाद उन्मूख दिशा कुनै कार्यक्रम प्रस्तुत गरिएको छैन,’ केसी भने।












