Kathmandu Press

बजेटले आर्थिक मन्दीलाई सम्बोधन गर्न सकेन सांसद जबरा

‘देशमा चलिरहेको आर्थिक मन्दीलाई बजेटले सम्बोधन गर्न सकेको छैन। आर्थिक मन्दी रहेको स्थितिमा त्यसलाई समाधान गर्न बजेटले कुनै स्पष्ट योजना ल्याएको देखिँदैन,’ उनले भने, ‘कृषि क्षेत्रमा कृषि दशक भनिएको छ, तर कृषि क्षेत्रमा न्यून बजेट आएको छ।’
बजेटले आर्थिक मन्दीलाई सम्बोधन गर्न सकेन सांसद जबरा

काठमाडौं, जेठ २० : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ल्याएको बजेटले मुलुकमा विद्यमान आर्थिक शिथिलतालाई चिर्न नसक्ने बताए।

प्रतिनिधिसभाको आजको बैठकमा बजेटबारेको छलफलमा सांसद जबराले कुनै स्पष्ट योजना नभई वितरणमुखी र कनिका छरेको जस्तो बजेट ल्याएको बताए।

‘देशमा चलिरहेको आर्थिक मन्दीलाई बजेटले सम्बोधन गर्न सकेको छैन। आर्थिक मन्दी रहेको स्थितिमा त्यसलाई समाधान गर्न बजेटले कुनै स्पष्ट योजना ल्याएको देखिँदैन,’ उनले भने, ‘कृषि क्षेत्रमा कृषि दशक भनिएको छ, तर कृषि क्षेत्रमा न्यून बजेट आएको छ।’

Hardik ivf

रासायनिक मलको अनुदानको रकम घटाउँदा त्यसको मार कृषकलाई पर्ने उनको भनाइ छ।

सांसद जबराले सरकारले आगामी आर्थिक वर्षका लागि राखेको लक्षित राजस्व संकलन गर्ने र स्रोत जुटाउन ठूलो चुनौती रहेको बताए। चालु आवको बजेटको आकार रु दुई खर्बभन्दा बढी घटाउनु परेको स्मरण गर्नुहुँदै उनले आकारमा ठूलो बजेट ल्याउनेभन्दा पनि कार्यान्वयनमा सरकारले बढी जोड दिनुपर्ने उल्लेख गरे।

बजेटले स्टार्टअप क्षेत्रमा राम्रा योजना ल्याएको उनको भनाइ छ। यद्यपि केही योजना तथा कार्यक्रम विवरणमुखी रहेको सांसद जबराले आरोप लगाए। ‘पुराना आयोजना अलपत्र छन्, थप नयाँ आयोजनामा बजेट राखेर कसरी पार लाग्ला?,’ सांसद जबराले प्रश्न गरे।

विद्युतीय गाडीको प्रयोग बढेको र यसले पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै जाने सरकारको नीतिकै प्रतिकूल हुनेगरी पेट्रोलियम पदार्थमा कर बढाइएको उनले उल्लेख गरे।

भौतिक पूर्वाधारका क्षेत्रमा लगानी बढाइए पनि राष्ट्रिय गौरवका आयोजनामा न्यून बजेट विनियोजन भएको बताउँदै उनले सिक्टा सिँचाइ आयोजनाका लागि पर्याप्त बजेट विनियोजन हुन नसकेको गुनासो गरे।

आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै जाने विषय सरकारले बजेटमा राखेको भए पनि त्यसका लागि कानुनी, संरचनागत र प्रक्रियागत सुधार हुन नसकेको सांसद जबराले बताए।

प्रकाशित मिति: १६:५८ बजे, आइतबार, जेठ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्