Kathmandu Press

अभौतिक सांस्कृतिक सम्पदामा नेपाल धनी छ, संरक्षणमा जुटौं : मन्त्री तामाङ

जनसङख्याको हिसाबले नेपाल सानो भएतापनि अरु ठूला मुलुकमा सम्भव नभएका सांस्कृतिक सम्पदाहरु पाउन सकिने बताए।
अभौतिक सांस्कृतिक सम्पदामा नेपाल धनी छ, संरक्षणमा जुटौं : मन्त्री तामाङ

काठमाडौं, जेठ २० : सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल अभौतिक सांस्कृतिक सम्पदामा धनी देश भएकाले यसको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन्।

आइतबार अभौतिक सांस्कृतिक सम्पदा संरक्षणको आवधिक प्रतिवेदन तयारी सम्बन्धी राष्ट्रिय परामर्श गोष्ठीमा उनले जनसङख्याको हिसाबले नेपाल सानो भएतापनि अरु ठूला मुलुकमा सम्भव नभएका सांस्कृतिक सम्पदाहरु पाउन सकिने बताए।

सोही कारण अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा नेपालको जिम्मेवारी र दायित्व अरुको भन्दा बढि हुने बताए।

‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि महासन्धिलाई नेपाल १५ जुन २०१० मा अनुमोदन गरेको हो। हाल १८३ राष्ट्रिहरुले यसलाई अनुमोदन गरिसेकका छन् । जनसंख्या र भौगोलिक रुपले सानो भएपनि नेपाल अभौतिक सांस्कृतिक सम्पदाको हिसाबले ज्यादै धनी देश हो,’ उनले भने।

नेपाल भौगोलिक, जातीय र भाषिक रुपले जसरी विविधता बाँडिएको बताउँदै उनले त्यो विविधताले यति धेरै सांस्कृतिक सम्पदाहरू यहाँ छन्, जो अरु ठूला मूलुकमा सम्भव नभएको उनले बताए।

उनले सूचना, संकलनका आधारमा सामुहिक सहभागिताबाटै अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि प्रतिवेदन तयार गरी पेस गरिने भएकाले सबै प्रतिनिधिहरुलाई सक्रिय सहभागिताका लागि आग्रह गरे।

प्रकाशित मिति: १४:३२ बजे, आइतबार, जेठ २०, २०८१