‘बजेटमाथिको बहसलाई रचनात्मक र विषय केन्द्रित बनाऔं’
सापकोटाले प्रधानमन्त्रीले बजेट प्रणालीमा भएको कर्मकाण्डी विधिलाई परिवर्तन गरेर संसदमा भएको छलफलबाट बजेट संशोधन र परिमार्जन गर्न सक्ने व्यवस्था गरे पनि संसद अवरोधका कारण त्यो अवसर गुमेको बताए।
काठमाडौं, जेठ २० : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बजेटमाथिको बहसलाई रचनात्मक र विषय केन्द्रित बनाउन सांसदहरुलाई अपिल गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले प्रधानमन्त्रीले बजेट प्रणालीमा भएको कर्मकाण्डी विधिलाई परिवर्तन गरेर संसदमा भएको छलफलबाट बजेट संशोधन र परिमार्जन गर्न सक्ने व्यवस्था गरे पनि संसद अवरोधका कारण त्यो अवसर गुमेको बताए।
संसदमा मुठभेडको स्थितिका कारण नीति तथा कार्यक्रममाथिको बहसमा छुटेको विषयलाई अब बजेटमाथिको छलफलमा समावेश गर्नेगरी बहसलाई रचनात्मक बनाउनुपर्ने सापकोटाले बताए।
साथै उनले जलवायु परिवर्तनको विषयमा गम्भीर बसह जरुरी रहेको बताएका छन्। आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले जलवायु परिवर्तनको विषयलाई प्राथमिकताका साथ उठाएको उल्लेख गरे।
भर्खरै सरकारको आयोजनामा यसैसम्बन्धी चन्द्रागिरिमा अन्तर्राष्ट्रिय डायलगको आयोजना गरिएको र त्यसले विश्वभर नै सकारत्मक सन्देश भन्दै उनले थपे, ‘यो विषयले यहाँ (संसद्मा) पनि प्राथमिकता पाओस्, हामी गम्भीरतापूर्वक बहस गरौँ’, उनले भने, ‘यसको असर, प्रभाव र न्यूनीकरणको विषयमा सोचिएन भने गम्भीर क्षति बेहोर्नुपर्ने हुनसक्छ।












