सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्छ : सांसद थापा
जेठ १५ गते बनेको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले संकटमा परेका सहकारीका विषयमा अध्ययन गर्नुपर्ने र राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गर्नुपर्ने सांसद थापाले सुझाव दिए।
काठमाडौं, जेठ २० : प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्ने बताए।
आइतबारको प्रतिनिधिसभा बैठकमा सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनुपर्ने उनले बताए।
जेठ १५ गते बनेको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले संकटमा परेका सहकारीका विषयमा अध्ययन गर्नुपर्ने र राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गर्नुपर्ने सांसद थापाले सुझाव दिए।
‘यहाँ बहुसंख्यक सहकारीले राम्रो काम गरिरहेका छन्, केही सहकारीले ठगी गरिरहेका छन्। राम्रो काम गर्नेलाई प्रोत्साहन र ठगी गर्नेलाई समितिले कारबाहीको दायरामा ल्याउन सकोस्,’ उनले भने, ‘सहकारीपीडित बचत रकम फिर्ताको माग गर्दै आन्दोलनरत छन् । उनीहरुलाई संसदीय छानबिन समितिले न्याय दिनुपर्छ।’
गोरखा मिडियाबाट सहकारीको रकम हिनामिना भएको विषय उठिरहेको उल्लेख गर्दै सांसद थापाले यस विषयमा छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरे।
जिम्मेवार भएर आएमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले विधायन संशोधन गर्न समेत कांग्रेसले सहयोग गर्ने बताए।