बालेनको व्यवहार असभ्य : ओली
उनले सामाजिक सञ्जालमा रमाउने युवा पुस्ताले सही गलत निक्र्योल गरेर निर्धक्क भन्न नसकिरहेको पनि जिकिर गरे।
काठमाडौं, जेठ २० : एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले व्यवहार असभ्य देखिएको टिप्पणी गरेका छन्।
शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।
सडक निर्माणका विषयमा मतभेद भएपछि दबाब दिन काठमाडौं महानगरपालिकाले गत साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि मेयर शाहको निर्देशनमा एक ट्रक धुलो लगेर खन्याइएको थियो।
उक्त घटनापछि मेयर शाह र एमाले नेता उपप्रधानमन्त्री एवं भौति पूर्वाधारमन्त्री रघुवीर महासेठको सम्बन्ध चिसिएको छ। सोही घटनालाई ओलीले आपत्ति जनाएका हुन्।
उनले सामाजिक सञ्जालमा रमाउने युवा पुस्ताले सही गलत निक्र्योल गरेर निर्धक्क भन्न नसकिरहेको पनि जिकिर गरे।
‘म छक्क पर्छु कत्ति साह्रो कमजोर प्रवृत्ति होला, कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँक्छ ? गलत ग¥यौं भनेर कसैले भन्न सक्दैन। के हालत होला? यो गलत हो। यस्ता क्रियाकलाप स्वतन्त्र र सभ्य समाजको लागि हुन हुँदैन,’ उनले भने, ‘असन्तुष्टि, आक्रोश, प्रतिक्रिया भनेको मलाई छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर सबै लगेर उसको ढोकामा राखिदिने ? यो कुनै सभ्यता हो ? अनि आज योङ जेनेरेसनले त्यो कुरा भन्न सक्नुपर्दैन?’
उनले युवा संघका नेता कार्यकर्तालाई नेतृत्व र पदका छनोटको लागि अप्ठेरो प¥यो भने आपसमा विवाद नगरी पार्टीमा सोध्न आउन आग्रह गरे।
बाहिर नभने पनि कामको मूल्यांकन गरेर बसेको भन्दै उनले प्रदेश–प्रदेशमा उपाध्यक्ष आवश्यक रहेकाले संगठनमा सच्याउन निर्देशन दिए।












