‘नागरिकलाई पीडा दिने काम ट्राफिक प्रहरीले नगरोस्’
ट्राफिक प्रहरीले अहिले मापसे चेकजाँच गर्दै आएको कार्यको प्रशंसा गर्दै उनले नागरिकलाई असर नपर्ने गरी सहजीकरण गर्न आवश्यक रहेको समेत बताइन्।-1717240334.jpg)
भक्तपुर, जेठ १९ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताएकी छिन्।
सामुदायिक विकास तथा सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघरको २०औँ स्थापना दिवसको एवं सामुदायिक दर्पण स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी छिन्।
‘सवारी दुर्घटनालाई कम गर्नका निम्ती लाइसेन्स दिँदा नै उनीहरूलाई ट्राफिक नियमका विषयमा धेरै नै प्रशिक्षित गर्न आवश्यक छ,’ मन्त्री चौधरीले भनिन्, ‘कहाँ कसरी चलाउने ? कति छेउसम्म जाने? कुन तर्फबाट क्रस गर्ने, ओभरटेक कसरी गर्ने? भन्ने विषयमा एकदमै कन्ट्रोल गर्न आवश्यक छ।’
ट्राफिक प्रहरीले अहिले मापसे चेकजाँच गर्दै आएको कार्यको प्रशंसा गर्दै उनले नागरिकलाई असर नपर्ने गरी सहजीकरण गर्न आवश्यक रहेको समेत बताइन्। उनले भनिन् ,‘कानून विपरित कसैले काम गरेको छ भने त्यसलाई कानूनबमोजिम कारवाही गर्न आवश्यक छ। तर नागरिकलाई पीडा दिनका निम्ती हाम्रा कार्यहरू हुनु हुँदैन।’
समाजमा अझै पनि प्रहरी भनेपछि डराउने प्रवृत्ति रहेको भन्दै उनले प्रहरीलाई नागरिकको सेवा गर्ने राष्ट्र सेवकको रूपमा बुझ्न आवश्यक रहेको बताइन्।
सामुदायिक प्रहरी सेवा केन्द्रहरूले यो कुरामा सहजीकरण गर्दै आएको भन्दै उनले समुदाय र प्रहरी मिलेर समुदायको काम अगाडि बढाउने कार्यले सकारात्मक सन्देश प्रवाह गर्ने समेत बताइन्।












