बजेटप्रति ओलीको असन्तुष्टी
ओलीले बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको भन्दै उनले बजेट निर्माणको प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको आरोप लगाए।काठमाडौं, जेठ १९ : एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि व्यक्त जनाएका छन्। शनिवार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको बताए।
ओलीले बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको भन्दै उनले बजेट निर्माणको प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको आरोप लगाए।
ओलीले यो बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो बनेको बताए। ओलीले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री र उनको दलको जस्तो बनेको भनेर टिप्पणी गर्दै सरकारमा सहभागी दलसँग परामर्श गरेर बजेट ल्याएको भए राम्रो हुने थियो भनेका छन्।
‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो। छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ । रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ,’ उनले भने।
ओलीले यसरी एकतर्फी रुपमा आएको बजेटमा गम्भीर त्रुटि रहेको भन्दै संसदमा खुलस्त छलफल गर्न सांसदहरुलाई निर्देशन दिए। सांसदहरुले आफ्नो क्षेत्रमा बजेटको अवस्था के छ, कटौती भएको छ र अन्य क्षेत्रमा गएको छ भने कुरा उठाउन सक्ने उनको सुझाव थिया ।
‘हामी बजेटलाई समर्थन गर्छौं र पारित पनि गर्छौं । तर यसको अर्थ बजेटमा रहेको कुनै पनि कमी औंल्याउनुहुँदैन भन्ने होइन,’ ओलीले भने।
ओलीले गठबन्धन भनेपछि सरकारले यसको मर्म र भावनालाई बिर्सन नहुने भन्दै सहकार्यमा एकलौटी चल्न नसक्ने धारणा व्यक्त गरेका थिए।