कर्णालीमा विकासको उज्यालो कांग्रेसले मात्र पुर्याउँछ : डा. संग्रौला
हुम्ला, जुम्लाका महिलाका कथाहरु आफूलाई राम्रोसँग थाहा भएको दावी गर्दै संग्रौलाले कर्णालीबासीको विकास र समृद्धिका लागि कांग्रेसले पहल गर्ने आश्वासन दिइन्।
सुर्खेत, जेठ १९ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आफूलाई कर्णाणी प्रदेशको कथा राम्रोसँग जानकारी भएको बताएकी छन्।
कर्णाली बिकासको मूलप्रवाहमा जोडिन नसकेको चर्चा गर्दै उनले आफ्नो पार्टीले यसलाई प्राथमिकतामा राखेको बताइन्।
हुम्ला, जुम्लाका महिलाका कथाहरु आफूलाई राम्रोसँग थाहा भएको दावी गर्दै संग्रौलाले कर्णालीबासीको विकास र समृद्धिका लागि कांग्रेसले पहल गर्ने आश्वासन दिइन्।
कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले भनिन्, ‘कर्णालीमा समस्याहरु पनि छन्, चुनौतीहरु पनि छन्, साथसाथै सम्भावना पनि छन्। कर्णाली विकासको मुलधारबाट परेकै छैन । मूलधारबाट उज्यालोतर्फ लैजानका लागि कांग्रेसले पहल गर्छ । उज्यालो कर्णालीका लागि हामीले यात्रा तय गरिसकेका छौं।’
उनले कांग्रेस सत्ता बाहिर या सत्तामा जहाँ भएपनि जनसवाल र जनताको केन्द्रविन्दु बन्ने बताइन् ।
‘जनताको केन्द्रविन्दु बन्न सकेन भने २१ औँ शताव्दिको आधुनिक कांग्रेस महिला, दलित, आदिवासी–जनजातिलगायतका सबै वर्गको आशाको केन्द्र बन्न सक्दैन,’ उनले भनिन्।












