Kathmandu Press

मुग्लिन–पोखरा सडक विस्तारमा तीव्रता

मुग्लिन–पोखरा सडक विस्तारमा तीव्रता

तनहुँ, जेठ १८ः पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ। पूर्वी खण्डअन्तर्गत ४१.७ किलोमिटरमध्ये २३ किमीमा चार लेन र आठ किमीमा दुई लेनको सडक कालोपत्र गरिएको छ।

तनहुँको आँबुखैरेनी, डुम्रे, व्यास र म्याग्दे खण्डका विभिन्न स्थानमा कालोपत्र गरिएको आयोजनाको पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए। उनका अनुसार यस खण्डमा ६० प्रतिशत भन्दाबढी काम सकिसकेको छ।

Hardik ivf

‘वैशाख २ गतेदेखि १५५ दिन म्याद थप गरिएकाले थपिएको म्यादभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाएका छौं,’ इञ्जिनियर पाण्डेले भने।

कोरोनाका समयमा निर्माण प्रभावित भएकाले सम्झौताअनुरुप काम सम्पन्न नभएपछि सरकारबाट म्याद थप गरिएको उनले बताए।

इञ्जिनियर पाण्डेका अनुसार पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् भने दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा तीनवटा ठूला पुलको काम भइरहेको छ। मुग्लिन–पोखरा सडक विस्तारलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरी कामलाई तीव्रता दिइएको आयोजना कार्यालयले जनाएको छ।

पश्चिम खण्डको ३८.८८ किलोमिटर सडक निर्माण भइरहेको भन्दै हालसम्म २५ प्रतिशत कार्यप्रगति भएको पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले जानकारी दिए। उनका अनुसार १५ किमीमा दुई लेनको सडक कालोपत्र भइसकेको छ। राजमार्गअन्तर्गत पश्चिम खण्डको जामुनेबाट पोखरा सेतीपुलसम्म १२ पुलमध्ये ११ वटा निर्माण भइरहेको उनको भनाइ छ।

‘पश्चिम खण्डमा करिब दुई हजार दुई सय बिजुलीका खम्बा हटाइनेछ। हालसम्म राजमार्गको दायाँबायाँ रहेका ५० प्रतिशत भन्दाबढी पोल हटाएर काम भइरहेको छ,’ इञ्जिनियर पौडेलले भने। 

उनका अनुसार तनहुँ खण्डको खैरेनीटारबाट कोत्रेवारीसम्म र कास्कीको कोत्रेपारिबाट तल्लो गगनगौँडासम्म पोल हटाउने काम भइरहेको छ।

प्रकाशित मिति: १७:३७ बजे, शुक्रबार, जेठ १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्