Kathmandu Press

शान्ति सैनिक राईलाई राष्ट्रसंघको मरणोपरान्त सम्मान

कर्तव्य निर्वाहका क्रममा दिवंगत भएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उनी शान्ति स्थापनामा खटिएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गरे।
शान्ति सैनिक राईलाई राष्ट्रसंघको मरणोपरान्त सम्मान

न्युयोर्क, जेठ १८ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसंघीय शान्ति सेनामा खटिएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन्।

अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्रसंघको प्रधानकार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको उक्त पदक संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे।

त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवंगत भएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उनी शान्ति स्थापनामा खटिएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गरे। राईको गत अक्टोवर १३ मा कंगोमा निधन भएको थियो।

सन् १९४८ मा इजरायल–अरब युद्धविराम सम्झौता कार्यान्वयनको पर्यवेक्षण गर्न मध्यपूर्वमा सैन्य पर्यवेक्षक परिचालन गर्ने निर्णय भएको दिन ३० मेलाई अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका रूपमा मनाइने गरेको छ।  

राष्ट्रसंघले अबेई, मध्य अफ्रिकी गणतन्त्र कङ्गो, साइप्रस, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इराक, कोसोभो, लेबनान, लिबियामा नेपाली शान्ति सेनालाई खटाउँदै आएको छ।

पूर्वी सोमालिया, दक्षिण सुडान, पश्चिमी सहारा र यमनमा पनि नेपाली शान्ति सेना तैनाथ छन्। नेपाल सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मीलाई शान्ति सेनाका रूपमा खटाउँदै आएको छ।

प्रकाशित मिति: १०:४९ बजे, शुक्रबार, जेठ १८, २०८१