काभानीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
कोपा अमेरिका सुरु हुन ३ सातामा मात्र बाँकी छँदा ३७ वर्षीय काभानीले अन्तर्राष्ट्रिय फुटबलका सन्न्यासको घोषणा गरेका हुन्।
काठमाडाैं, जेठ १८ : उरुग्वेका भेट्रान स्ट्राइकर इडिन्सन काभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। कोपा अमेरिका सुरु हुन ३ सातामा मात्र बाँकी छँदा ३७ वर्षीय काभानीले अन्तर्राष्ट्रिय फुटबलका सन्न्यासको घोषणा गरेका हुन्।
अर्जेन्टिनी क्लब बोका जुनियर्सबाट व्यवसायिक फुटबल खेलिरहेका ३७ वर्षीय काभानीले आफ्नो करिअरको नयाँ अध्याय सुरु भएको बताएका छन्। १६ वर्ष उरुग्वेका लागि खेल्दा आफूले सक्नेजति सबै दिएको बताएका छन्।
काभानीले उरुग्वेका लािग १३६ खेलमा ५८ गोल गरेका छन्। उनी उरुग्वेका अहिलेसम्मकै उत्कृष्ट स्ट्राइकरमध्ये एक हुन्।
सन् २०२२ मा कतारमा भएको विश्वकपको समूह चरणको अन्तिम खेलमा घानाविरुद्ध काभानी अन्तिम पटक उरुग्वेको जर्सीमा देखिएका थिए। सो खेलमा उरुग्वे २–०ले विजयी भएको थियो। उनले त्यसअघिका ३ विश्वकप खेलेका थिए।
काभानीले पिएसजी, म्यान्चेस्टर युनाइटेड, नापोली र भ्यालेन्सियाबाट पनि व्यवसायिक फुटबल खेलेका छन्।












