Kathmandu Press

समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले उत्पादन र श्रम संस्कृतिको विकासका निम्ति स्थानीय क्लबहरूको निर्माण र परिचालन गर्नुजस्ता रचनात्मक क्रियाकलापमा लाग्नुपर्नेमा जोड दिए।
समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, जेठ १७ : प्रधानमन्त्री पुष्पकमल दाहालले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिएका छन्।

जनसांस्कृतिक महासंघ नेपालको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताए।

‘संस्कृतिको जग समाज हो, तसर्थ समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘जनताको जीवन पद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी सङ्ठगित गर्नुपर्छ।’

Hardik ivf

जनयुद्धकालमा सांस्कृतिक आन्दोलनमा सामाजिक रूपान्तरण र सभ्य समाज निर्माणका लागि संकल्प र पहल लिइएको उल्लेख गर्दै उनले समाजको आधारभूत तहमा पुगेर रूपान्तरणको पैरवी गर्ने, जनताको जीवन पद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गर्नुपर्ने बताए।

प्रधानमन्त्री दाहालले उत्पादन र श्रम संस्कृतिको विकासका निम्ति स्थानीय क्लबहरूको निर्माण र परिचालन गर्नुजस्ता रचनात्मक क्रियाकलापमा लाग्नुपर्नेमा जोड दिए।

‘पूर्वीय दर्शन, चिन्तन परम्परा र हाम्रो राष्ट्रिय संस्कृति निकै समृद्ध छ,’ उनले भने, ‘ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्, यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको संवर्द्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौं।’

उनले सामन्तवादी संस्कृतिले खडा गरेका रूढीवाद, अन्धविश्वास, अन्धभक्ति एवं साम्राज्यवादी संस्कृतिले खडा गरेको शून्यवाद, उपभोक्तावाद र उत्तरआधुनिकतावादी चिन्तन र दृष्टिकोणका विरुद्ध समाजवादी संस्कृतिको जग बसाल्नु नै आजको मुख्य कार्यभार भएको बताए।

वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको स्पष्ट पार्दै उनले राजनीतिक परिस्थिति र घटनाक्रममा उतारचढावजस्तो देखिए पनि वर्तमान सत्ता समीकरणमा कुनै समस्या नभएको बताए। सरकारले गरेका ऐतिहासिक पहल र महत्त्वपूर्ण उपलब्धिहरू आम जनसमुदायसम्म पुर्याई परिवर्तनको पक्षमा जनमत निर्माण गर्न प्रधानमन्त्रीले आग्रह गरे।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा साहित्य, कला र संस्कृतिको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सोहीअनुरूप बजेट विनियोजन गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले समुदायसँगको सहकार्यमा पुराना बस्ती भएका स्थानमा सङ्ग्रहालय स्थापना गरिने बताए।

प्रकाशित मिति: १७:३४ बजे, बिहीबार, जेठ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्