Kathmandu Press

सांसद पौडेलले दर्ता गराए दुईवटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

अतिक्रमण भएका ‘सार्वजनिक जग्गाको एकीकृत व्यवस्थापन गर्न र विकास निर्माण गर्दा सरकारका विभिन्न निकाय बीचमा अनिवार्य सहकार्य’ गर्नुपर्ने, सम्बन्धमा गरी दुईवटा प्रस्ताव दर्ता गराएका हुन्।
सांसद पौडेलले दर्ता गराए दुईवटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं, जेठ १७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले दुईवटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गराएका छन्।

अतिक्रमण भएका ‘सार्वजनिक जग्गाको एकीकृत व्यवस्थापन गर्न र विकास निर्माण गर्दा सरकारका विभिन्न निकाय बीचमा अनिवार्य सहकार्य’ गर्नुपर्ने, सम्बन्धमा गरी दुईवटा प्रस्ताव दर्ता गराएका हुन्।

दुईवटै प्रस्तावमा प्रतिनिधिसभा सदस्यहरू प्रतिमा गौतम र सपना राज भण्डारीको समर्थन रहेको छ।

Hardik ivf

‘सार्वजनिक जग्गाको एकीकृत व्यवस्थापन प्रस्ताव’मा विश्वविद्यालय, मठ मन्दिर तथा अन्य विभिन्न क्षेत्रका बहुमूल्य जग्गा राजनीतिक पँहुच र आग्रह–पूर्वाग्रहका आधारमा, स्वार्थ समूहहरूसँग मिलेमतो गरी विभिन्न व्यक्ति, संघ संस्था तथा निजी कम्पनीलाई सस्तोमा तथा कतिपय निशुल्क भाडामा वा लिजमा दिइएको भन्दै शक्ति र पहुँचको दुरुपयोग गर्दै हुने सार्वजनिक जग्गाको अतिक्रमण रोक्न र विगतमा अतिक्रमित भएका सार्वजनिक जग्गालाई नेपाल सरकारको मातहतमा ल्याउन प्रस्ताव गरेका छन्।

विशेषगरी काठमाडौँ उपत्यकाका लगायत मुख्य सहरी क्षेत्र तथा घनाबस्ती बीचमा रहेका सार्वजनिक जग्गा विभिन्न बहानामा व्यक्तिले अपचलन गरिरहेको हुँदा त्यस्ता जमिन तत्काल मुक्त गराई पार्क, खेल मैदान वा अन्य सामुदायिक उपयोगमा ल्याउन व्यवस्थित कार्ययोजना आवश्यक रहेकोले उक्त प्रस्ताव दर्ता गरिएको सांसद पौडेलले बताएका छन्।

त्यसैगरी, हाल सम्म नेपाल सरकारले सार्वजनिक जग्गाको खोज तथा व्यवस्थापन गर्न बनाएका विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक गर्न र सार्वजनिक भएका प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्न उनले प्रस्तावमा राखेका छन्।

सार्वजनिक जग्गाको वैज्ञानिक अभिलेख राख्दै यसको एकीकृत व्यवस्थापन गर्न, केन्द्रीकृत डाटाबेसको निर्माण गरी व्यवस्थित तथा एकीकृत अभिलेख राख्ने गरी प्रणालीको विकास गर्नु पर्ने प्रस्तावमा उल्लेख छ।

‘अन्तरनिकायहरूबीचमा अनिवार्य सहकार्यको प्रस्ताव’मा तिनै तहका सरकार एवं राज्यका अन्तरनिकायहरूबीचमा समन्वय गरेर मात्र विकास गर्नुपर्ने प्रस्ताव गरेका छन्।

राज्य कोषबाट खर्च भइरहेको बजेट मितव्ययी ढंगले उपयोग गर्न र आमनागरिकका सरोकार सँग जोडिएका सबै विषयमा जिम्मेवारपूर्ण भएर कार्य गर्ने गराउने गरि यो प्रस्ताव दर्ता गरिएको प्रस्तावमा उल्लेख छ।

विशेष गरी, काठमाडौँ उपत्यकाका लगायत मुख्य सहरी क्षेत्रमा सडक निमार्णका क्रममा वर्षेनी एउटै सडक बारम्बार भत्काउने र बनाउने कार्यले गर्दा सडकमा हुने धूलो धुवाँ तथा प्रदूषण र वर्षमा हुने हिलोका कारणले सास्ती खेप्नुपरेको छ भने यस्तो प्रदुषणले शहर नै कुरूप बनाएको, उनको आरोप छ।

यसरी बस्ती बिचको बाटो बारम्बार भत्काउँदा यातायात असहज हुँदा यस्ता कार्य गर्दा आवश्यक समन्वय गरेर मात्र गर्नु पर्ने, उनले सुझाएका छन्।

प्रकाशित मिति: १६:३४ बजे, बिहीबार, जेठ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्