बेरुजु असुल गर्न रणनीतिक कार्ययोजना तत्काल पेश गर्न महालेखालाई निर्देशन
बैठकपछि समिति सभापति ऋषिकेश पोखरेलले बेरुजुको अंश बढ्दै गइरहेको अवस्थाका कारण वित्तीय अराजकताको सन्देश प्रवाह भएको बताउँदै रणनीतिक कार्ययोजनाको मस्यौदा तत्काल पेश गर्न निर्देशन दिएका थिए।
काठमाडौं, जेठ १७ : सार्वजनिक लेखा समितिको बैठकले महालेखा परिक्षकलाई निर्देशन दिँदै बेरुजुलाई शीघ्र फछ्र्यौट गरी आर्थिक अनुशासन र वित्तीय सुशासन सुनिश्चित गर्नेगरी रणनीतिक कार्ययोजनाको मस्यौदा तत्काल पेश गर्न भनेको छ।
समितिको वैठकले विहीबार महालेखापरीक्षको कार्यालयलाई उक्त निर्देशन दिएको हो । बैठकपछि समिति सभापति ऋषिकेश पोखरेलले बेरुजुको अंश बढ्दै गइरहेको अवस्थाका कारण वित्तीय अराजकताको सन्देश प्रवाह भएको बताउँदै रणनीतिक कार्ययोजनाको मस्यौदा तत्काल पेश गर्न निर्देशन दिएका थिए।
महालेखालाई सैद्धान्तिक बेरुजु, असुल उपर गर्नुपर्ने, बेरुजु र पेश्की बेरुजुलाई मन्त्रालयगत रुपमा छुट्टाछुट्टै उल्लेख गरी आगामी वार्षिक प्रतिवेदन तयार गरी समितिमा बुझाउन निर्देशन दिइएको छ।
बैठकपछि समिति सभापति पोखरेलले एउटै विषयमा लेखापरीक्षण पदाधिकारी कसैले बेरुजु उठाउने कसैले नउठाउने प्रवृत्ति अन्त्य गरी एकरुपता ल्याउन लेखापरीक्षण मापदण्डलाई अनिवार्य पालना गर्न, मनोगत आधारमा बेरुजु उठाउने कार्यमा नियन्त्रण गर्न, वस्तुगत आधारमा मात्र उठाउने प्रणाली स्थापित गर्न निर्देशन दिइएको छ।
यसैगरी समितिले जुन कार्यको लागि बजेट खर्च गरिएको हो सो कुरा स्पष्ट गरेर मात्रै राख्न पनि महालेखालाई निर्देशन दिइएको छ।












