आरोहणक्रममा ज्यान गुमाउने शेर्पाको लागि कल्याणकारी कोष स्थापना हुने
उनले कल्याणकारी कोषको लागि मन्त्रालयको तर्फबाट औपचारिक प्रस्ताव अगाडि बढाउने भन्दै आरोहणको क्षेत्रमा कानूनहरु समयसापेक्ष संशोधनको प्रक्रिया समेत अगाडि बढेको बताए।
काठमाडौं, जेठ १६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आरोहणको क्रममा मृत्यु भएका आरोही शेर्पाहरुका लागि कल्याणकारी कोष व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन्।
आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कल्याणकारी कोषको लागि मन्त्रालयको तर्फबाट औपचारिक प्रस्ताव अगाडि बढाउने भन्दै आरोहणको क्षेत्रमा कानूनहरु समयसापेक्ष संशोधनको प्रक्रिया समेत अगाडि बढेको बताए।
‘नेपालको पर्वतीय पर्यटन र आरोहणको क्षेत्रमा हामीले केही कानूनहरु समयसापेक्ष संशोधनको प्रक्रिया समेत अगाडि बढाइरहेका छांै। नेपालको आरोही समुदाय अथवा स्वदेशी र विदेशी आरोहीको सपना साकार पार्ने क्रममा मृत्यु भएका आरोही शेर्पाहरुका लागि कल्याणकारी कोषको व्यवस्थाको लागि नेपाल सरकार सकारात्मक छ,’ उनले भने ‘यस विषयमा मन्त्रालयको तर्फबाट पनि औपचारिक हिसाबले प्रस्ताव अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु।’
मन्त्रीले सूचना संकलन, समप्रेषण, समन्वय, सहजीकरण र नियमन लगायतका कार्यहरु सम्पादन गर्नका लागि यस वर्ष सगरमाथा आधार शिविरमा अस्थायी फिट कार्यालय स्थापनाका साथ काम अगाडि बढेको पनि जानकारी दिएका छन्।
नेपाल सरकारले आगामी वर्ष नेपालमा १६ लाख पर्यटनको आगमनको लक्ष्य निर्धारण गरेको भन्दै त्यो लक्ष्य पूरा गर्नका लागि सबैको समन्वय र सहकार्य आवश्यक भएको पनि उनको भनाई छ।












