‘सिधाकुरा’ अवहेलना प्रकरणमा सर्वोच्चमा सुनुवाइ सुरु
सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सारंगा सुवेदीको इजलासमा सुनुवाइ भइरहेको हो।
काठमाडौं, जेठ १६ : ‘सिधाकुरा’ अवहेलनासम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सारंगा सुवेदीको इजलासमा सुनुवाइ भइरहेको हो।
अनलाइन तथा युट्युब च्यानल सिधाकुराले सर्वोच्च अदालतका न्यायाधीशको समेत नाम जोडेर विवादित श्रव्य सामग्री प्रकाशन–प्रसारण गरेपछि सर्वोच्च अदालत प्रशासनले प्रतिवेदन उठाएर अदालतको अवहेलनासम्बन्धी मुद्दा अघि बढाएको थियो।
यता अधिवक्ता अनुपम भट्टराईले पनि अर्को भिन्नै मुद्दा दायर गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’ सँग जोडिएको मुद्दाको फैसला प्रभावित पार्न न्यायाधीशसहित बैठक बसेर साँठगाँठ गरिएको बताउँदै सिधाकुरा डटकमले अडिओ सार्वजनिक गरेपछि अवहेलना मुद्दा दायर भएको हो। दुवै मुद्दा एकैसाथ राखेरअहिले सुनुवाइ भइरहेको छ।
सर्वोच्च अदालतको एकल इजलासले यसअघि विवादित टेप उपलब्ध गराउने राजकुमार तिमिल्सिनाले पोलेका थप व्यक्तिलाई झिकाउनुमेत आदेश दिएको थियो।
सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासले एक साताभित्र आरोपित थप व्यक्तिहरूलाई बयानका लागि अदालतमा उपस्थित गराउन आदेश गरेको थियो। उक्त मुद्दालाई अग्राधिकार दिएर पेसी तोकिएका कारण चाँडै फैसला हुने बाटो खुल्ने छ।












