‘प्रचण्ड घोर संघीयता विरोधी हुन्’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउने नेतृत्व संघीयताको पक्षधर हुनै नसक्ने दाबी यादवको थियो। संघीयता नचाहनेसँग प्रचण्डले गठबन्धन बनाएको भन्दै उनले तिब्र असन्तुष्टी पनि व्यक्त गरे।-1708701958.jpeg)
जनकपुरधाम, जेठ १४ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि घोर संघीयताविरोधी भएको आरोप लगाएका छन्।
सरकार अल्पमतमा रहेकाले दीर्घकालीन असर पर्ने खालका निर्णयहरू नगर्न÷नगराउन भन्दै एमाले, जनमत पार्टी, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको ध्यानाकर्षण पत्र बुझेपछि यादवले पत्रकारसँग कुरा गर्दै यस्तो आरोप लगाएका हुन्।
प्रचण्ड अहिले संघीयताको घोर विरोधी भएर निस्केको दाबी गर्दै मुख्यमन्त्री यादवले प्रचण्डले संघीयता नचाहेको बताए।
‘देशभर मधेस प्रदेशले संघीयता चाहेको हो। पहिला हामी केपी ओलीलाई संघीयता विरोधी भन्थ्यौँ। उहाँ त भन्दै हुनुहुन्थ्यो कि मैले संघीयता चाहेको होइन, जबरजस्ती लादिएको हो, म मजबुर थिएँ,’ मुख्यमन्त्री यादवले संचारकर्मीसँग भने, ‘तर, प्रचण्डलाई मैले अहिले कसरी हेरेँ भने प्रचण्ड संघीयता चाहने व्यक्ति पहिला तर अहिले संघीयताको घोर विरोधी प्रचण्ड हो। प्रचण्डले संघीयता चाहेकै छैनन्।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउने नेतृत्व संघीयताको पक्षधर हुनै नसक्ने दाबी यादवको थियो। संघीयता नचाहनेसँग प्रचण्डले गठबन्धन बनाएको भन्दै उनले तिब्र असन्तुष्टी पनि व्यक्त गरे।
‘संघीयता चाहेको भए केपी ओली र रवि लामिछानेलाई ल्याएर सरकार बनाउनु हुँदैन थियो। रवि लामिछाने त प्रदेशमा अहिले पनि चुनाव लडेनन्। त्यस्ता मान्छेसँग गठबन्धन बनाउने नेतृत्वले देशमा संघीयता चाहेको छ ?,’ यादवले प्रश्न गर्दै भने।
उनले संघीयतामाथि प्रहार गर्न मधेस प्रदेशमा पटकपटक विश्वासको मत फिर्ता लिने, कर्मचारीको सरुवा गर्नेलगायतका गतिविधि संघीय सरकारले गरेको पनि बताए।












